झापा, श्रावण ७ । सामाजिक संजालमार्फत् जोडिदै प्रेम गर्ने बहानामा व्यापारीलाई ४० लाख फिरौती माग्ने युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज खान, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दाजिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
गत असार २८ गतेबाट रितुले विर्तामोडका एक व्यवसायीलाई जया खान बन्दै सामाजिक संजालमार्फत् इमो र मोबाइलमा फोन गरी सम्पर्क गरेकी थिइन् । रितुले व्यापारीलाई कोठामा बोलाएर अश्लिल गतिविधी गर्दै गरेको अवस्थामा अभियुक्तहरुले भिडियो रेकर्ड गरी कुटपिट गर्दै फिरौती माग गरेका पिडितले बताए । ५० लाख माग गरे पनि बागेर्लिङ गरी ४० लाख गत आइतबार दिने सहमति भएपछि छाडेका थिए ।
प्रहरीले उनीहरुको साथबाट बा. १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिको शिलप्याक बोतल तीन थान, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लास्टिककको पेस्तोल जस्तो देखिने वस्तु बरामद भएको जनाएको छ ।

