खेलकुद

काँकरभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल हुने

झापा, फागुन १० । झापाको काँकरभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । नाईट चेस क्लव काँकरभिट्टाले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।

नाईट चेस क्लव काँकरभिट्टाको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको रुपमा स्व. पिबी थापा स्मृति बुद्धिचाल प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता फागुन २० गते देखि २५ गते सम्म आयोजना गरिने नाईट चेस क्लवका अध्यक्ष राजु कार्कीले जानकारी दिनु भयो ।

कार्कीका अनुसार प्रतियोगिताको आधारभुत तयारी भईसकेको र नेपाल चेस एसोसिएशनबाट अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा स्वीकृती समेत लिइ सकिएको छ । औपचारिक रुपमा सन् २००४ बाट बिभिन्न प्रतियोगिताको माध्यमबाट नाईट चेस क्लवले बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै बुद्धिचाल खेल र खेलाडिलाई प्रवद्र्धन गर्दै आएको कार्कीले बताउनु भयो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरि करिब २५० जना खेलाडिको सहभागीता रहने क्लवका संस्थापक अध्यक्ष एवं प्रतियोगिताका निर्देशक विश्वविजय घिमिरेले बताउनु भयो । अहिले सम्म बंगलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडिहरुले प्रतियोगितामा सहभागीताका लागि नाम दर्ता गराई सकेको र भुटानबाट समेत खेलाडिहरु सम्पर्कमा आईरहेको घिमिरेले जानकारी दिनु भयो । घिमिरेका अनुसार प्रतियोगिताको प्रमुख आर्विटारको रुपमा विजयकुमार थापा रहनु हुनेछ ।

प्रतियोगितामा खुल्लातर्फ २० उत्कृष्ट खेलाडिहरु पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्दितीय, तृतीय हुनेले क्रमशः नगद रु ६० हजार, ५० हजार तथा ४० हजार प्राप्त गर्नेछन् । साथै थप उत्कृष्ट १७ जनालाई अधिकतम १८ हजार देखि न्युनतम ५ हजार सम्मको नगद पुरस्कार राशिको ब्यवस्था गरिएको क्लवका महासचिव अशोक राईले जानकारी दिनु भयो । महासचिव राईका अनुसार भेट्रान, प्रदेश स्तरीय, मेचीनगरका बिभिन्न उमेर समुह लगायत अन्य थप २० जनाले ३ हजार देखि १ हजार सम्म नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनमा करिव २४ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जस अन्तर्गत पुरस्कार राशिमा मात्र नगद रु २ लाख ८४ हजार ९ सय खर्च हुने अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगितालाई मेची युमा चेस एकाडेमीले सहयोग गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजन मेचीनगर ६, काँकरभिट्टा निवासि अनिता थापाले ब्यक्तिगत रुपमा गर्नु भएको बताइएको छ । थापाका पुजनीय पिताको पुण्य स्मृतिमा यो प्रतियोगिता सञ्चालन हुँदै आएको पूर्व अध्यक्ष शेरबहादुर बस्नेत ‘सुन्दर’ले बताउनु भयो ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रतियोगिताका निर्देशक घिमिरे, पूर्व अध्यक्षहरु कृष्णकान्त खनियाँ, गोपाल तामाङ्ग, शेरबहादुर बस्नेत ‘सुन्दर’, मुख्य प्रायोजक थापा लगायतको उपस्थिति थियो । क्लवका अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव राईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.