झापा, बैशाख ४ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।
यसै बिच मेचीनगर ६ स्थित काँकरभिट्टामा प्रधान कार्यालय रहेको मेची बस व्यवसायी प्रालिले पनि नगद १ लाख सहयोग गरेको छ । प्रालिको तर्फबाट सो रकम बराबरको चेक मेचीनगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीलाई बिहिबार प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठले हस्तान्तरण गरे ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारबाट घोसित लकडाउन बाट दैनिक ज्यालादारी गर्ने, निम्न आय भएका अति विपन्न परिवारलाई सहयोग पर्याउने उदेश्यले संस्थाको तर्फबाट पनि सानो सहयोग गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा प्रालिका पूर्व अध्यक्ष मोहन प्रकाश उप्रेती, कार्यसमिति सदस्यहरु राजकुमार पाण्डे, दुर्गाराम अर्याल, गोकुल ढुङ्गाना, प्रेम तिम्सिनालगायतको उपस्थिती रहेको थियो ।

