विविध

प्रविधिमैत्री बन्दै गाउँघर

नरेन इलामेली
इलाम माघ ११ ।
पछिल्लो समय ग्रामीण क्षेत्रहरु पनि प्रविधि मैत्री बन्दै गएका छन् । सीप र प्रविधिको अभावमा पम्परागत रुपमै काम गर्दा महिनौँ लाग्ने कामहरु आजभोली एकै दिनमा सकिन थालेका छन् । जसले गर्दा समयको र पैसा समेत बचत भएको छ ।

पछिल्लो समय गाउँघरमा विभिन्न संघ संस्थाको अनुदान तथा व्यक्तिगत लगानीमा विद्युतिय मिल, च्यापकटर, हाते ट्याक्टर काठ काट्ने मेसिन (चेइन श) लगायतका उपकरणहरु भित्रिए पछि ग्रामीण जिवन शैली समेत सहज भएको छ भने आय आर्जनमा समेत सुधार हुदै गएको छ । केही बर्ष अघि सम्म काँधमा आरा बोकेर काठ काट्न हिँड्ने माइजोगमाई २ जोगमाईका सोम बहादुर तामाङ हाल हातमा काठ काट्ने मेसिन (चेइन श) बोकेर कामका निस्किने गरेका छन् । पहिले आराले काठ काट्दा एक ठिक्का ( एक हजार फुट ) काठ काट्न महिनौँ लाग्थ्यो तर अहिले प्रविधिको प्रयोग बढेसँगै काममा सहजता आएको तामाङले बताए । तामाङले भने —“ पहिले काठ काट्न गाह्रो थियो, रुख लडाएर धरान बनाएर काठ काट्नु पथ्र्यो दुई जनाले आरा तन्नु पथ्र्यो झन्जटिलो हुन्थ्यो तर अहिले मेसिनले काट्दा सजिलो भएको भएको छ । कम समयमा नै धेरै काम गर्न सकिन्छ, साथी नहुदा एक्लैले पनि काम गर्न सकिन्छ ।
मेसिनबाट काठ काटाउँदा काम लगाउँन पनि सिजलो हुने स्थानिय कृष्णबहादु थापाले बताए । पहिले पहिले आराले काठ काट्दा आफू पनि भुलिनु पथ्र्यो अहिले त्यस्तो छैन । आराले काठ काट्दा लामो समय लाग्ने भएकाले घर गोठ बनाउने काम तत्काल असम्भव रहे पनि अहिले भने एकै छिनमा काठ तयार हुने भएकाले सहज भएको थापाको अनुभव रहेको छ ।

गाउँघरमा हातेट्याक्टर भित्रिए पछि किसनहरुलाई पनि सहज भएको छ । गाउँमा युवा पुस्ताको पलायनसँगै खेतबारीमा गोरु जोत्ने मानिसको अभाव हुदै गएको र कृषि पेशा नै छोड्ने मनााशयमा पुगेका किसानहरुलाई हाते ट्याक्टरले राहात प्रदान गरेको छ । हाते ट्याक्टर किसानहरुका लागि उपयुक्त भएको स्थानीय हाते ट्याक्टर चालक नरेन्द्र राईले बताए । गोरुले जोत्दा धेरै डल्ला उठ्ने, छेउ कुना नजोतिने हुन्थ्यो तर हाते ट्याकटरले जोत्दा डल्ला पनि उठ्दैन, साँघुरो ठाउँमा पनि जोत्न सकिन्छ । राईले भने — “गोरुले जोत्दा सँगै मानिस पनि डल्ला फोर्न र छेउकुना खन्न लाग्नु पर्छ , बाली लगाउनु अघि बारी दोश्रो पटक जोत्नु पर्छ ,तर ट्याक्टरले जोत्दा त्यो पर्दैन सोझै बाली लगाए हुन्छ । जसले गर्दा श्रम र समयको बचत हुन्छ ।”

यति मात्र हैन पछिल्लो समय गाउँघरमा घाँस काट्ने मेसिन (च्यापकटर ) र विद्युतिय मिल समेत भित्रिएको छ । परम्परागत रुपमा ढिकि, ओखल र जाँतोमा घण्टौँ लगाएर धान मकै र पिठो पिस्दै आएका ग्रामीण परिबेशका मानिसहरुलाई विद्युतिय मिलले सहजता प्रदान गरेको छ । जसका कारण श्रम र समयको समेत बचत भएको छ । यता घाँस काट्ने मेसिन (च्यापकटर )ले पशुपालक किसानहरुलाई सजिलो बनाएको छ । च्यापकटरमा घाँस टुक्रयाएर बस्तुलाई हाल्दा कम घाँस लाग्ने, घाँस नास नहुने र रहेको घाँस पनि छिट्टै कुहिने र चाँडै मल बन्ने च्यापकटर प्रयोगकर्ताहरु बताउँछन् ।

गाउँघरमा यस्ता प्रविधिहरु धित्रिए पछि परम्परागत रुपमा प्रयोग हुदै आएका खेतबारी जोत्ने हलो, काठ काट्ने आरा, अन्न कुट्न तथा पेल्न प्रयोग हुने ढिकी, जाँतो, ओखल , घाँस टुक्रयाउन प्रयोग हुने सरौतो लगायतका स्थानिय प्रविधिहरु लोप हुँदै गएका छन् । तर दैनिक जिवनमा सरलता आएकोमा ग्रामिण भू—भागका बासिन्दाहरु भने हर्षित छन् ।

Leave a Reply

Your email address will not be published.