देबु बानियाँ
बाहुण्डाँगी । केही वर्ष अघि सम्म खेत बाँझै रहन्थ्यो । धान लगायो हात्तीले हैरान बनाउँथ्यो । निकै समय बाँझै रहेको त्यो खेतबारी अहिले हराबरा बनेको छ ।
मेचीनगर ४ का डम्बर रञ्जितकारले लगाएको कागती खेतीले यतिबेला त्यो उजाड जमिन हरियाली बनेको छ । हरियाली मात्र होइन कागतीका दानाने उनको व्यवसायलाई पनि स्थापित बनाएको छ ।
रञ्जितकारले कृषि व्यवसाय लामो समयदेखि गर्दै आए । मेचीनगर ४ को आमडाँगीमा रहेको उजाड जमिनलाई सदुपयोग गर्दै कागतीका विरुवा ल्याएर रोपे । ४ वर्ष अघि अढाइ विगाहा जमिनमा उनले कागतीका विरुवा लगाएका थिए । सुरुवातीमा उनले १२ सय विरुवा रोपे । त्यहि विरुवाले यतिबेला आम्दानी दिन थालेको छ । बार्षिक १४ लाख दाना कागती उत्पादन गर्दै आएका छन् । ‘यो क्षेत्र हात्ती प्रभावित छ ।’ उनले भने –‘बालीनाली जोगाउन गाह्रो भइरहेका बेला कागती खेती बैकल्पिक खेतीका रुपमा लगाउन सकिन्दो रहेछ ।’ हात्तीले अन्य बालीनालीमा क्षति पुर्याउने गरेको छ, तर कागती खेतीलाई हात्तीले बिगार गर्दै । कागती हात्तीका लागि आहार होइन ।
कृषिमा सम्भावना नरहेको आवाज उठिरहँदा रञ्जितकारको कागती बगान पुग्ने जो कोहीको मुख रसाउँछ । रसिलो कागती फलाएका उनले भने ‘कागतीको बजार राम्रो छ । मैले उत्पादन गरेको कागतीको स्थानीय बजारमै खपत भइरहेको छ ।’
कागती खेतीलाई उनले व्यवसायिक रुपमा विस्तार गरिहेका छन् । कागती खेतीबाट राम्रो आम्दानी लिन सक्ने गरी उनले बगानमा कामदार राखेर हेरचाह गरिहरहेका छन् । उनको बगानमा दैनिक २० जनाले काम गर्छन् । उनीहरुलाई काम अनुसारको पारिश्रमिक दिने गरेको रञ्जितकारले बताए ।
कागती बगानलाई बहुकृषि मार्फत उनले जोडेका छन् । बगानमा सुपारी तथा मरिच खेती पनि लगाएका छन् । तिनै प्रकारको खेतीबाट भविष्यमा राम्र्रै आम्दानी लिन सक्ने गरी योजना बनाएका छन् । कुनै बेला धान खेती हुने ठाउँलाई मासेर रञ्जितकारले कागती खेती सुरु गरेका छन् । धान भन्दा कागती तथा अन्य खेतीबाट बाहुणडाँगीका किसानले फाइदा लिइरहेका छन् ।

