मेचीनगर । बाहुण्डाँगी जेसीजले रसुवाका बाढीपीडितका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी सोमबार रसुवातर्फ पठाएको छ। राहत सामग्री बोकेको जेसीज टोलीलाई मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बिदाइ गरे ।
गत भदौ १० गते बाहुण्डाँगी जेसीजले रसुवा बाढीपीडितका लागि राहत संकलन अभियान घोषणा गरेको थियो। अभियानअन्तर्गत विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाबाट खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री संकलन गरिएको हो।
अभियानमा मेचीनगर लेडी जेसीज, बारदर्शी जेसीज र सुरुङ्गा जेसीजले समेत सहयोग गरेका थिए। संकलित नगद रकमबाट पनि बाढीपीडितलाई तत्काल आवश्यक पर्ने सामग्री खरिद गरिने बाहुण्डाँगी जेसीजले जनाएको छ।
बाहुण्डाँगी जेसीजका निवर्तमान अध्यक्ष नित्यानन्द चौलागाईंको संयोजकत्वमा सुरु गरिएको अभियानबाट संकलित राहत सामग्री रसुवाको बेत्रावतीसम्म पुर्याइने वर्ष २०२६ का अध्यक्ष निकेशराज दाहालले जानकारी दिए ।
उनका अनुसार बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
बाहुण्डाँगी जेसीज स्थापन कालदेखि नै विभिन्न मानव सेवा तथा सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।

