मेचीनगर । नेपाल र भारतका विद्यार्थीलाई एउटै मञ्चमा उभ्याएर सिर्जनशीलता, प्रविधि र नवीन सोचको आदानप्रदान गराउने उद्देश्यले मेचीनगरमा आयोजित ‘इन्डो–नेपाल ब्रेनवेभ ह्याकाथन–२०८३’ सम्पन्न भएको छ।
ब्रेनवेभ सर्कलको आयोजनामा मेचीनगर–६ स्थित काँकडभिट्टा हलमा शनिबार आयोजित ह्याकाथनमा नेपाल र भारतका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकसहित दुई हजारभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ।
ह्याकाथनमा विद्यार्थीले विज्ञान तथा प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), वातावरण, पर्यटन र नवप्रवर्तनलगायतका क्षेत्रमा तयार पारेका नमुना, प्रोटोटाइप तथा कार्यशील परियोजना प्रदर्शन गरेका थिए। उनीहरूले प्रविधिको प्रयोगमार्फत दैनिक जीवनमा देखिएका समस्या समाधान गर्न सकिने उपायसमेत परियोजनामार्फत प्रस्तुत गरेका थिए।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी समूह बनाएर सहभागी भएका थिए। किताबी ज्ञानमा सीमित नभई आफ्ना विचारलाई प्रयोग र परियोजनाका रूपमा प्रस्तुत गर्ने अवसर पाएपछि विद्यार्थीमा उत्साह देखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ब्रेनवेभका संरक्षक डम्बर रुचल, मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली तथा मेचीनगरकी उपप्रमुख एवं कार्यक्रमकी प्रमुख अतिथि मिना पोखरेल उप्रेतीले विद्यार्थीको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताइन् ।
वक्ताहरूले नेपाल र भारतका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप तथा प्रविधिको अनुभव आदानप्रदान गराउने प्रयासले दुई देशबीचको शैक्षिक तथा सिर्जनात्मक सम्बन्धलाई थप बलियो बनाउने बताए। उनीहरूले विद्यार्थीको रुचि र क्षमतालाई पहिचान गर्दै व्यवहारिक सिकाइ तथा नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राखे।
ब्रेनवेभ सर्कलका अध्यक्ष कमल भेटवालले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सिर्जना, प्रयोग र नवप्रवर्तनमार्फत सिक्ने वातावरण तयार गर्न ह्याकाथन आयोजना गरिएको बताए। उनका अनुसार नेपाल र भारतका विद्यार्थीबीच सहकार्य तथा ज्ञान आदानप्रदानलाई निरन्तरता दिँदै आगामी दिनमा कार्यक्रमलाई थप विस्तार गरिनेछ।
कार्यक्रमको सञ्चालन नेत्र खतिवडा र पदम रुचलले गरेका थिए। कार्यक्रमको अध्यक्षता अध्यक्ष भेटवालले गरेका थिए।

