राजनीति

हल्दिबारीको जग्गा वर्गीकरण अवैज्ञानिक भएको भन्दै तीन राजनीतिक दल आन्दोलित

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएपछि स्थानीय राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा आन्दोलित बन्दै पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकाले स्थानीय सरोकारवाला दल तथा सङ्घसंस्थाको समन्वयविना एकलौटी ढङ्गले जग्गा वर्गीकरण गरिएकोमा दलहरूले आपत्ति समेत जनाएका छन् ।

जग्गा वर्गीकरण को बारेमा स्थानीय नागरिकलाई समेत सूचना प्रवाह नगरी आवास तथा कृषि जग्गा बीच भिन्नता समेत नहुने गरी आएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै स्थानीय दलहरू आन्दोलित भएका हुन् । सडक छेउछाउका जग्गा पनि कृषिमै राखिएको छ भने स्थानीयको साबिक जग्गा गायब भएको देखिएको भन्दै दलहरूले गाउँपालिकालाई अविलम्ब निर्णय सच्याउन चेतावनी समेत दिएका छन् । एक हप्ता भित्र जग्गा वर्गीकरण नसच्चिए धर्नादेखि तालाबन्दीसम्मको कार्यक्रम अगाडि बढाइने एमाले हल्दिवारी इन्चार्ज नरेश चुडालले जानकारी दिए । 

ज्ञापनपत्रमा नेकपा एमालेका हल्दिवारी अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली काँग्रेसका पालिका सभापति गङ्गा प्रसाईँ र नेकपा माओवादी केन्द्रकी कार्यवाहक अध्यक्ष टिका राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ– स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । जनताको मर्म र भावना बमोजिम छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनु स्थानीय सरकारको कर्तव्य हो । जनताको विकासप्रतिको तीव्र चाहानालाई पुरा गर्दै समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, विकृति, विसङ्गति र बेतिथिको अन्त्य गर्न स्थानीय स्तरदेखि नै विधिको शासनको परिपालना गर्ने र गराउने व्यवस्था मिलाउनु वर्तमानमा स्थानीय सरकारको दायित्व हो । तर, स्थानीय सरकारको रुपमा रहेको हल्दीबारी गाउँपालिका स्थानीय जनताहरूको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने भन्दा पनि नागरिकहरूलाई सास्ती दिने कुरामा उद्यत देखिएको छ।

त्यसको पछिल्लो उदाहरणको रुपमा हालै हल्दीबारी गाउँपालिकाले स्थानीय नागरिकहरूसँग महत्त्वपूर्ण सरोकार राख्ने भू उपयोग योजना तर्जुमा र जग्गा वर्गीकरणको सन्दर्भमा अपनाएको विधि, प्रक्रियालाई हेर्दा प्रस्ट हुन्छ। गाउँपालिकाको भू उपयोग सम्बन्धी योजना तर्जुमा र जग्गाको वर्गीकरण गर्ने जस्तो महत्त्वपूर्ण विषयमा पर्याप्त प्रचार प्रसार, छलफल र जानकारी सम्प्रेषण गर्नु पर्नेमा सो नगरी गाउँपालिकाले जग्गा वर्गीकरणको प्रक्रिया अगाडी बढाएको छ । अतः हल्दीबारी गाउँपालिकाले हालै अगाडी बढाएको जग्गा वर्गीकरणको प्रक्रिया लगायत निम्न विषय तत्काल सच्याएर अगाडी बढ्न गाउँपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौँ ।