धर्म संस्कृती

जागेश्वर शिवालयलाई भारतीको कफी मेकरसहित आवश्यक सामग्री सहयोग

मेचीनगर । झापाको मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरलाई भक्तजनको सेवा–सुविधा विस्तार गर्ने उद्देश्यले इलेक्ट्रोनिक जग (किट्ली) सहित कफी तथा तातो पानी तयार गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

मन्दिरका संरक्षक एवं समाजसेवी राहुल भारतीले सहयोगस्वरूप उपलब्ध गराउनुभएको सामग्री आज आयोजित एक कार्यक्रमबीच मन्दिर व्यवस्थापन (कार्य) समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा विद्या विकास एकेडेमीका एकेडेमिक डाइरेक्टर हेमराज कार्कीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले उक्त सहयोगले मन्दिरमा सञ्चालन हुने बैठक तथा धार्मिक कार्यक्रमहरूलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

मन्दिर व्यवस्थापन समितिका अनुसार प्राप्त सामग्रीबाट मन्दिरमा आउने भक्तजनलाई कफी तथा तातो पानी उपलब्ध गराउन सहज हुने भएको छ, जसले सेवा–सुविधाको स्तर अझ उकास्ने अपेक्षा गरिएको छ।

समाजसेवी राहुल भारतीले यसअघि पनि मन्दिरको विकास, व्यवस्थापन तथा पूर्वाधार सुदृढीकरणका लागि निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँको योगदानले मन्दिरको सेवा विस्तार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन्।