धर्म संस्कृती

श्री सिद्धेश्वर शिवालयमा शुक्रबारदेखि ११ दिने श्रावणी धार्मिक महोत्सव हुने, काशीका गुरुद्वारा विशेष गंगा आरती

झापा। झापाको मेचीनगर नगरपालिका वडा नं. १५ र ७ को बीचमा अवस्थित धार्मिक आस्थाको केन्द्र श्री सिद्धेश्वर शिवालयमा श्रावण १५ देखि ११ दिने श्रावणी धार्मिक महोत्सव तथा विशेष अनुष्ठान सुरु हुने भएको छ।

श्रावण महिनालाई भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिने भएकाले हरेक वर्षझैँ यस वर्ष पनि साउन १५ गतेदेखि २५ गतेसम्म विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गरिएको हो।

धार्मिक महोत्सवको शुभारम्भ भव्य कलश यात्रासहित गरिने आयोजक श्री सिद्धेश्वर शिवालय परिवारले जनाएको छ। कलश यात्रामा महिला, पुरुष, ज्येष्ठ नागरिक तथा युवायुवतीहरूको उत्साहजनक सहभागिताको लागि आयोजकले अपिल गरेको छ ।

शिवालय परिसरदेखि सुरु हुने कलश यात्रा हेल्दुबारी , फडानी हुँदै बिचार्नी हुँदै धुलाबारी इटाभट्टा हुदै मन्दिर परिसरमा पुगेर सम्पन्न गरिने जनाएको छ ।

आयोजकका अनुसार साउन १६ गतेदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि विशेष रुद्राभिषेक, शिवपूजन, जलाभिषेक तथा १०८ बेलपत्र अर्पण गरिनेछ। भगवान शिवको विशेष आराधनासँगै भक्तजनहरूले व्यक्तिगत तथा पारिवारिक सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै पूजा–आराधना गर्न सक्ने व्यवस्था मिलाइएको छ।

कार्यक्रम तालिकाअनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद् ब्रह्ममहापुराणको मूलपाठ हुनेछ। त्यसपछि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संगीतमय श्रीमद् ब्रह्ममहापुराण कथा प्रवचन सञ्चालन गरिनेछ।

कथावाचनबाट धर्म, संस्कार, नैतिक शिक्षा तथा सनातन संस्कृतिका विविध पक्षहरूबारे भक्तजनलाई जानकारी गराइने आयोजकले जनाएको छ।

दिउँसो कथा प्रवचन सम्पन्न भएपछि प्रत्येक दिन विशेष आरती, पुष्पाञ्जली तथा सामूहिक प्रार्थना गरिने कार्यक्रम रहेको छ। साथै प्रसिद्ध भजन गायक तथा कलाकारहरूको उपस्थितिमा दैनिक भगवत् भक्तिमय भजन–कीर्तन समेत प्रस्तुत गरिने भएकाले धार्मिक वातावरण अझ भक्तिमय बन्ने अपेक्षा गरिएको छ।

यस वर्षको धार्मिक महोत्सवको प्रमुख आकर्षणका रूपमा श्रावण २२, २३ र २४ गते बनारस (काशी) बाट विशेष रूपमा आमन्त्रित गुरुहरूद्वारा गंगा आरती सञ्चालन गरिनेछ। साँझ हुने उक्त गंगा आरतीमा काशीको धार्मिक परम्परा झल्किने विशेष विधि, वैदिक मन्त्र, दीप आरती तथा आध्यात्मिक वातावरणको अनुभूति गर्न सकिने आयोजकले जनाएको छ। यसले स्थानीय भक्तजनलाई काशीको धार्मिक संस्कृतिको अनुभूति दिलाउने विश्वास गरिएको छ।

धार्मिक महोत्सवको अन्तिम दिन साउन २५ गते सोमबार विशेष हवन, पूर्णाहुति, सामूहिक प्रसाद वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ। समापन कार्यक्रममा विभिन्न क्षेत्रका धर्मप्रेमी, समाजसेवी, जनप्रतिनिधि तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

मेचीनगरको श्री सिद्धेश्वर शिवालयमा प्रत्येक वर्ष श्रावण महिनाभरि सञ्चालन हुँदै आएको यस्तो धार्मिक कार्यक्रमले सनातन धर्मप्रति आस्था अभिवृद्धि गर्नुका साथै धार्मिक पर्यटन, सामाजिक सद्भाव र स्थानीय समुदायबीच आपसी एकतालाई समेत बलियो बनाउँदै आएको स्थानीयवासी बताउँछन्।

आयोजकले श्रावणी धार्मिक महोत्सवमा सहभागी भई भगवान शिवको पूजा–आराधना, पुराण श्रवण, रुद्राभिषेक, गंगा आरती तथा अन्य धार्मिक अनुष्ठानमार्फत आध्यात्मिक लाभ लिन सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी तथा सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरेको छ।