काठमाडौं, भदौ ४ । राजेश हमाल जस्तो होशियारी सायदैले अपनाउँछन् । उनी जतासुकै देखिदैनन्, जथाभावी बोल्दैनन्, जेसुकै गर्दैनन् । त्यसैले महानायक खासै लफडाबाजीमा फस्दैनन् ।
उनी आफ्ना निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् । कहिँ, कतै देखिनु परेमा व्यवसायिक स्वरुपमा प्रकट हुन्छन् । आफ्नो ‘सेलिब्रेटी छवी’लाई सकेसम्म जोगाउने यत्न गर्छन् । सोंच–विचार गरेर बोल्छन् ।
सुभानी, शान्त र सौम्य । झट्ट देख्दा राजेश हमाल यस्तै देखिन्छन् । त्यही कारण उनलाई माया र श्रद्धा गर्नेहरुको जमात ठूलो छ । उनीहरुले आफ्ना प्रिय अभिनेतालाई ‘महानायक’ भनी सम्बोधन गर्न रुचाउँछन् ।
राजेश हमालप्रति यस्तो सद्भाव पोतिनुमा अर्को कारण पनि छ, उनले पर्दामा देखाएको छवी । सिनेमाको पर्दामा कहिले किसान त कहिले मजदुर बनेर उनले अन्याय र अत्याचार विरुद्ध खेले । ‘दुस्मनको लागि यो हात फलाम’ भन्दै गुण्डाहरुलाई रामधुलाई गर्दा दर्शकको मुटुमा जोशिलो कम्पन छुट्यो ।
निर्विवाद रहने यत्न गर्दा–गर्दै पनि राजेश हमाल ओभानो रहन सकेनन् । कहिले ना-ङ्गो फोटो काण्डले त कहिले अभिनेत्रीसँगको रोमान्सको फन्डाले उनलाई चर्चा र विवादको चक्रमा घुमाइरह्यो ।
सुगठित ज्यानमा छोटो कछाड र सुरुवाल लगाएर कहिले हलो जोते, कहिले भारी बोके । कसैको सिन्दुरको रक्षा गरिदिए त, कसैको अन्नपात जोहो गरिदिए । त्यसैले त निडर, न्यायप्रेमी नौजवान नायकमाथि दर्शकले स्नेह पोखिरहे ।
पर्दा भित्र र पर्दा बाहिर, उनले आफ्नो सन्तुलन गु-माउन चाहेनन् । तर, नचाहेरै पनि बेलाबखत उनको खुट्टा चिप्लियो ।

