समाचार

अवैध मोटरपार्टसहितको गाडी छुटेपछि सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर । काँकरभिट्टा नाकाबाट अवैध रूपमा नेपाल भित्र्याइएको मोटरपार्टससहित नियन्त्रणमा लिइएको एउटा निजी गाडीलाई बिना कारबाही छाडिएको भन्दै सशस्त्र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ।

सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मले केही दिनअघि मेची खोलाको बाटो हुँदै नेपालतर्फ ल्याइएको मोटरपार्टससहित प्रदेश २–०३–००१च १४५८ नम्बरको स्कोर्पियो गाडी नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएको गाडीलाई कुनै जरिवाना वा थप कारबाही नगरी छाडिएको स्रोतको दाबी छ।

स्थानीयका अनुसार नाकामा सामान्य रोजगारी गर्ने सिटी सफारीले थोरै परिमाणमा भन्सार नतिरेका सामान बोकेको भेटिए तत्काल नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरिएको छ। तर निजी गाडीमा ठूलो परिमाणमा अवैध सामान भेटिँदा कारबाही नगरी छाडिएको घटनाले सशस्त्र प्रहरीको कानुन कार्यान्वयनमा समान व्यवहार नभएको आशंका बढाएको हो।

सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर भद्रपुरका प्रवक्ता मदन रसाइलीसंग यश बिषयमा जानकारी लिँदा उनले भने उक्त गाडीबाट करिब २४ हजार रुपैयाँ मूल्य बराबरको मोटरपार्टस मात्रै बरामद भएकाले गाडीलाई बिना जरिवाना छाडिएको जानकारी दिए।

तर, सामानसहित गाडी नियन्त्रणमा लिएको समयमा पत्रकारको टोली समेत त्यहाँ पुगेको थियो र स्थलगत रूपमा गाडीबाट बरामद गरिएको सामानसंगै रहेका व्यक्तिले ३६ हजार भारतीय रूपैयाँको एउटा बिल देखाएका थिए । त्यस क्रममा पत्रकारले उनलाई प्रश्न गर्दै यति कम मुल्यको सामान किन भन्सार नगरी खोलाबाट ल्याईयो र लाखौं पर्ने निजी स्कोर्पियो गाडीमा रिस्की मोलेर लोड गरि लान खोजेको भन्दा ती व्यक्तिले यो बिल एकदम कम मुल्यको बनाएर ल्याएको तर नेपालमा यो सामान चार पाँच लाख बढी मुल्यको रहेको बताएका थिए ।

तर, यता प्रवक्ता रसाइलीले भने काँकरभिट्टा गुल्मले मोटरपार्टस नियन्त्रणमा लिए पनि गाडीमाथि थप कारबाही आवश्यक नदेखिएकाले छाडिएको जनाएको बताए ।

चाडपर्व नजिकिँदै जाँदा काँकरभिट्टा नाकाबाट अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि बढ्न थालेको स्थानीयको भनाइ छ। सीमावर्ती क्षेत्रमा साना–ठूला समूह नै सक्रिय भएर मोटरपार्टस, कपडालगायतका सामान भन्सार छलेर नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ।

नाकामा हुने अवैध ओसारपसार नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले एउटै प्रकृतिका घटनामा व्यक्ति वा सवारीसाधनअनुसार फरक व्यवहार गर्ने हो कि कानुनअनुसार समान कारबाही गर्छ भन्ने विषयमा पनि प्रश्न उठेको छ।

हाल सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मको कमान्ड डिएसपी योगराज थापाले सम्हालिरहेका छन्। चाडपर्वको समयमा सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले थप कडाइ गर्ने अपेक्षा गरिएको छ। तर, नियन्त्रणमा लिइएको अवैध सामानसहितको गाडीलाई बिना कारबाही छाडिएको घटनाले सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकामाथि नै प्रश्न खडा गरेको छ।