मेचीनगर । झापाको मेचीनगर–४ स्थित श्री जागेश्वर शिवालय मन्दिरमा गमला स्थापनाका लागि संकलित सहयोग रकम र खर्च विवरण सार्वजनिक गरिएको छ। श्रावण महिनाको पहिलो सोमबारको अवसरमा मन्दिर व्यवस्थापन समितिले दाताहरूको नामावलीसहित आय–व्यय विवरण सार्वजनिक गरेको हो।
मन्दिरका सचिव राम गौतमका अनुसार गमला खरिदका लागि विभिन्न दाताबाट कुल रु. ६९ हजार ७ सय संकलन भएको छ। प्राप्त रकमबाट गमला खरिदमा रु. ५५ हजार, फूल खरिद तथा ढुवानीमा रु. ५ हजार १ सय ५०, अनलोडमा रु. २ हजार ५ सय तथा लेखन कार्यमा रु. २ हजार ५ सय खर्च भएको छ। सबै खर्च कटाएपछि रु. ४ हजार ५ सय ५० बचत रहेको सचिव गौतमले जानकारी दिए।
सार्वजनिक विवरणअनुसार देवीप्रसाद चम्लागाई परिवारले रु. १५ हजार ४ सय, याम कटुवालले रु. ११ हजार २ सय, पुनम ओझाले रु. १० हजार, टिकाराज भारती परिवारले रु. ८ हजार ८ सय, मदन चम्लागाईले रु. ५ हजार, हरि श्रेष्ठले रु. ३ हजार सहयोग गरेका छन्। त्यसैगरी सीमा काफ्ले, गीता लुङ्गेली, विजय खतिवडा, मञ्जिता तामाङ, किरण गौतम र राम गौतमले जनही रु. २ हजार २ सय, ज्ञानबहादुर राईले रु. २ हजार तथा रमेश दाहालले रु. १ हजार १ सय सहयोग गरेका छन्।
मन्दिर व्यवस्थापन समिति तथा संरक्षक राहुल भारतीले सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै मन्दिरको धार्मिक तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन्।

