बाहुण्डाँगी । नेपाल जेसीजले २०२१ को तीन महिनामा उत्कृष्ट कार्य २० वटा शाखालाई त्रैमासिक उत्कृष्ट शाखा अवार्डबाट पुरस्कृत गरेको छ । काठमाडौँमा सम्पन्न नेपाल जेसीजको काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर उनीहरुलाई अवार्ड प्रदान गरिएको थियो । पहिलो ३ महिनामा हरेक क्षेत्रबाट ५ वटा शाखालाई छनोट गरी उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको हो ।

यसरी अवार्ड पाउने शाखाहरुमा क्षेत्र ‘क’ बाट वीरता जेसीज, उदयपुर जेसीज, इटहरी जेसीज, बुधवारे जेसीज र रमाइलो जेसीज रहेका छन् । क्षेत्र ‘घ’ बाट गीतानगर जेसीज, नारायणगढ लेडी जेसीज, पोखरा लेडी जेसीज, सिमरा जेसीज र शुक्लागण्डगी जेसीजले अवार्ड प्राप्त गरेका छन् ।

क्षेत्र ‘ग’ बाट रामेछाप, काठमाडौ लेडी, लुभु जेसीज, कृतिपुर, प्रस्तावित खाँडादेवी र क्षेत्र ‘घ’ बाट बुटवल लेडी, लम्की जेसीज, सुर्खेत लेडी, कर्णाली जेसीज र तुलसीपुरनगर जेसीजले पहिलो ३ महिनाको अवार्ड प्राप्त गरेका छन् ।

हरेक क्षेत्रबाट उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्षले नेपाल जेसीजमा पठाएको रिपोर्टका आधारमा राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले उत्कृष्ट शाखा छनोट गरी अवार्ड प्रदान गर्नु भएको हो । उत्कष्ट हुनका लागि शाखाले गरेका विभिन्न कार्यक्रमहरुको कार्यसम्पादनका आधारमा मुल्याङ्कन हुने गर्छ ।

यस अघिका वर्षहरुमा हरेक महिना वितरण गर्दै आएको यो मासिक अवार्ड यो वर्ष हरेक ३ महिनामा वितरण गर्न सुरु गरिएको छ । मासिक रुपमा वितरण गर्दा अवार्डका लागि मात्र काम गर्ने, एउटा महिना अवार्डपाएपछि अर्काे महिनादेखि निस्कृय रहने, काम गरेर अवार्ड पाउनु पर्छ भन्दै सिफासिर गर्ने र एक अर्कामा अवार्डको प्रतिस्पर्धा मात्र हुन थालेपछि यसलाई हटाएर त्रैमासिक रुपमा काम गर्ने उत्कृष्ट शाखाहरुलाई छनोट गरी उनीहरुको कार्य सम्पदनका आधारमा अवार्ड वितरण गर्न थालिएको हो ।

जसले गर्दा अवार्ड भन्दा पनि शाखाको कामले प्राथमिकता पाएको देखिन्छ ।
‘हामीले काम गरेका शाखालाई मुल्याङकन गरी अवार्ड वितरण गरेका छौँ’ राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले भन्नु भयो–‘समाजमा सकारात्मक कार्य गर्दै जेसीजको मिसन र भिजनमा काम गर्ने शाखाले पहिलो ३ महिनाको अवार्ड पाएका छन् । अन्य वर्षहरुलाई हेर्ने हो भने एउटा क्षेत्रका ३ वटा शाखाले पाउने थिए तर अहिले ५ वटाले पाएका छन् । जसले एकातिर शाखाको संख्या पनि बढेको छ भने अवार्डमा पनि निश्पक्ष भएको छ ।’


















