खेलकुद

पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु,’ खड्काले भनेका छन् ।

खड्काले सन्यास लिएको घोषणा गर्दै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको पनि उल्लेख गरेका छन् ।

उनले आफ्नो क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसलाका लागि प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवाला, मिडिया तथा आफ्नो परिवार र साथीहरूप्रति आफू सदैव ऋणी रहने पनि उनको भनाइ छ ।

उनले क्रिकेटरका रुपमा मन वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेटको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेको पनि स्मरण गरेका छन् । साथै उनले इमान्दारीका साथ काम गरे नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास पनि व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि भने आफ्नो सपना अझै बामे सर्दै गरेको उनको भनाइ छ ।