काठमाडौं, साउन १९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।
लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा घिसिङले कार्यभार सम्हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रुपैयाँसम्म नाफामा गरेको थियो ।
२९ भदौ २०७३ मा कार्यकारी निर्देशकमा नियुक्ति पाएका घिसिङको कार्यकालमा नै १६ घण्टा लामो लोडसेडिङ अन्त्य भएको थियो भने ३४ अर्बको सञ्चित घाटाबाट प्राधिकरण ५ अर्ब नाफामा पुगेको थियो ।
उज्यालोको हिरोको उपमा पाएका घिसिङ २०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा छिरेका थिए । २०७७ भदौमा कार्यकाल सकिँदा सरकारमाथि उनकै पुन: नियुक्तिको दबाब परेकाे थियाे । सरकारले कार्यकाल नथपेपछि बाहिरिएका उनी करिब एक वर्षपछि पुनः भित्र्याउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।
कुलमान बाहिरिएपछि विद्युत् व्यवस्थापन तथा प्राधिकरणको वित्तीय विवरण बिग्रिएको त्यहाँ आवद्ध कर्मचारीको स्वीकारोक्ति रहेको छ ।

