खुदुनाबारी । तीन दशकदेखि तेक्वान्डो खेलमार्फत दक्ष तथा अनुशासित खेलाडी उत्पादन गर्दै आएको खुदुनाबारी तेक्वान्डो डोजाङले आफ्नै स्थायी प्रशिक्षण हल निर्माण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत प्रशिक्षण हलको शिलान्याससमेत सम्पन्न गरिएको छ।
वि.सं. २०५० सालदेखि तेक्वान्डो खेलको अभ्यास सुरु भएको यश क्षेत्रमा वि.सं. २०५६ सालमा प्रशिक्षक होम दुलालको अगुवाइमा खुदुनाबारी तेक्वान्डो डोजाङ स्थापना गरिएको थियो। स्थापना कालदेखि नै खेलकुदमार्फत सभ्य, अनुशासित र सक्षम समाज निर्माण गर्ने उद्देश्य बोकेको डोजाङले निरन्तर रूपमा खेलाडी उत्पादन गर्दै आएको छ।

हाल सञ्चालनमा रहेको प्रशिक्षण गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नै कभर्ड प्रशिक्षण हल निर्माणको योजना अघि बढाइएको तेक्वान्दो प्रशिक्षक होम दुलाल बताउँछन्।
हालै सम्पन्न शिलान्यास कार्यक्रममा डोजाङका पदाधिकारी, प्रशिक्षक, खेलाडी, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
प्रशिक्षण हल निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन डोजाङले पूर्व खेलाडी, अभिभावक, खेलप्रेमी, समाजसेवी तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गरेको छ। आफ्नै पूर्वाधार निर्माण भएपछि खेलाडीलाई नियमित र गुणस्तरीय प्रशिक्षण प्रदान गर्न सहज हुने विश्वास डोजाङको छ।
डोजाङले “खेलकुद राष्ट्रको गौरव हो, अनुशासन र सफलताको आधार हो” भन्ने नारालाई आत्मसात गर्दै खेलकुद विकाससँगै युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने कार्यलाई निरन्तरता दिँदै आएको दुलालको भनाइ छ । उनले प्रशिक्षण हल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको तेक्वान्डो विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

