मेचीनगर । मेचीनगर-६ काँकरभिट्टामा कार्यालय रहेको मेची मासु उत्पादक सहकारी संस्था लिमिटेडको १८औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। सहकारीको मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाले मानव सेवाको भावनासहित उक्त पुण्य कार्य सम्पन्न गरेको हो।
संस्थाको मुख्य उद्देश्य मासु उत्पादन तथा पशुपालन क्षेत्रको विकास भए तापनि सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिँदै विभिन्न समाजोपयोगी कार्यक्रम सञ्चालन गर्दै आएको छ। “रक्तदान जीवनदान” भन्ने मान्यतालाई आत्मसात् गर्दै आयोजित यस कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी, शुभेच्छुक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत रगत अभावका कारण उपचारमा रहेका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। यस प्रकारका मानवीय तथा सेवामूलक कार्यले समाजमा सहकारिताको भावना, सामाजिक एकता र परोपकारको संस्कारलाई थप मजबुत बनाउने संस्थाको विश्वास रहेको छ।
संस्थाले आगामी दिनहरूमा पनि माशु उत्पादनमुखी गतिविधिसँगै कृषी उत्पादन ,एग्रो फार्म सन्चालन स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै समुदायप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

