विराटनगर । यौन दुर्व्यवहार आरोपी शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि मोरङको लेटाङमा आक्रमण भएको छ ।
यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको हो ।
आक्रोशित भिडले एक महिला प्रहरीको घाँटीमा चक्कु प्रहार गरेको छ । नेपाल प्रहरीको गणमा कार्यरत महिला प्रहरी उर्मिला श्रेष्ठको घाँटीमा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते उनको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।
शिक्षक पौडेलले गत शुक्रबार आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भिडले शिक्षकलाई स्कुलमै आक्रमण गर्न खोजेका थिए ।
‘हामीले कानुनी कारबाहीका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाएका थियौं, स्थानीय र विद्यार्थीले शिक्षकलाई जोगाउन खोजियो भन्दै आक्रमण गरे,’ लेटाङ ५ का वडा अध्यक्ष भुमसूर्य मगरले भने, ‘दिनभर स्कुलको अवस्था तनावग्रस्त रह्यो ।’
आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित प्रहरी घाइते भएका छन् । कोशीअनलाईन