राजनीति

झापा: एमालेले गर्यो प्रमुख उपप्रमुखको नाम छानौटका लागि आन्तरिक चुनाव, को–को चुनिए ?

झापा । नेकपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको प्रमुख र उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि नगर प्रमुख र उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन् । मेचीनगरमा भएको मतदान मार्फत नगरप्रमुखका लागि गोपालचन्द्र बुढाथोकी, निलकण्ठ तिवारी र मिना उप्रेतीले बढी मत प्राप्त गरेको एमालेस्रोतले जनाएको छ ।

त्यस्तै मेचीनगरको उपप्रमुखमा रमा भण्डारी, ऋषीराज तिम्सिना र कल्पना ओलीले बढी मत पाएका छन । कार्यकर्ताले दिएको मतका आधारमा सर्वाधिक मत प्राप्त गरेका मध्ये नगरप्रमुखमा एक महिला सहित तीन जना र उपप्रमुखमा पनि एक महिला सहित तीन जनाको नाम जिल्ला पार्टी कार्यालयले केन्द्रमा सिफारिस गर्ने एमाले केन्द्रीय सदस्य तथा निर्वाचन समिति संयोजक रविन कोइरालाले बताउनु भयो । सिफारिस भएका मध्येबाट केन्द्रिय समितिले प्रमुख र उपप्रमुखको उम्मेद्वार निर्णय गर्ने कोइरालाले जानकारी दिनु भयो ।

बिर्तामोडमा पवित्रा महतराले पाइन् मेयरमा धेरै मत

बिर्तामोडमा उम्मेद्वार सिफारिसका लागि एमालेले गरेको आन्तरिक चुनावमा वहालवाला उपमेयर पवित्रा महतरा प्रसाईले सर्वाधिक मत प्राप्त गरेकी छन् ।

बिर्तामोडको मेयरमा प्रसाईले सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने दोस्रो मत एकराज कार्की र तेस्रो मत नगेन्द्र संग्रौलाले प्राप्त गरे ।

यस्तै, उपमेयरको चुनावमा सबैभन्दा धेरै मत भार देवराज कार्की, दोस्रो भीमा शिवाकोटी र तेस्रो मतभार गणेश पोखरेलले प्राप्त गरेका छन् । नगरपार्टीले जिल्लालाई तीन जनाको नाम मात्रै उम्मेद्वार आकांक्षीको रुपमा सिफारिस गर्ने बुझिएको छ ।

झापाको भद्रपुर नगरपालिकाको मेयरमा आकांक्षीहरु बीच भएको आन्तरिक चुनावमा असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । उनले दोस्रो दोस्रो मत प्राप्त गर्ने आकांक्षीभन्दा झण्डै २०० मत धेरै ल्याएको बुझिएको छ ।

भद्रपुरमा अत्याधिक मत प्राप्त गर्दै मेयरमा असारु राजवंशी पहिलो

भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेपछि आन्तरिक चुनाव गरिएको हो । राजवंशीपछि चन्द्र श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो , जीवन श्रेष्ठ चौथो , राम दवाडी पाँचौं र सिता प्याकुरेलले छैठा मतभार प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । पार्टीले उम्मेद्वार सिफारिसका छनौट गर्न निर्वाचन गरेको हो । निर्वाचनमा मतभारका आधारमा पार्टीलाई गरेको योगदानको मुल्याङन हुने बताइएको छ ।