अर्थ

मेची भन्सारका कर्मचारीको ज्यादती बढ्यो

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाका कर्मचारीहरूको ज्यादती दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । नेपालको पूर्वी नाका काँकडभिट्टा नाका भएर आवतजावत गर्ने सर्वसाधारण र पोके व्यापारीले आफूहरूलाई भन्सारका कर्मचारीले मेची पुलमा नै पुगेर अनावश्यक दुःख दिने गरेको गुनासो गरेका छन् ।

थोर–थोरै घरायसी सामग्री ल्याउँदा पनि आवश्यक समन्वय समेत नगरी भन्सारका कर्मचारीले चेकजाँच गर्ने बहानामा मेची पुलको बीच भागमा नै पुगेर दुःख दिँदै रकम असुल्ने गरेको व्यापारी बताउँछन् । साथै कर्मचारीले भने बमोजिम रकम नदिए विभिन्न बहाना बनाएर अनावश्यक दुःख दिँदै सामान समेत राखिदिने गरेको स्थानीय व्यापारी बताउँछन् ।

आफूहरूले थोर थोरै घरायसी सामग्री ल्याउँदा टाइट गर्ने तर, ठुलठुला व्यापारीहरूले सेटिङ्ग मिलाएर सामान लैजाँदा चैँ हुने यो कस्तो नियम हो ? कानुन त सबैलाई समान होइन र ? एक स्थानीय व्यापारीले भने । उनका अनुसार आवश्यक समन्वय समेत नगरी दुःख दिने कार्य तत्काल बन्द गरिनुपर्ने बताए ।

भन्सारको कर्मचारीले दुःख दिने गरेको गुनासो बारम्बार आउन थालेपछि मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीसँग यस विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आएनन् ।

राजस्व सङ्कलन गर्न खटिएका भन्सार कर्मचारीले सामग्रीहरू आवश्यक परे भन्सार गरेर पठाउनुपर्ने हो । तर, व्यक्तिगत लाभ लिँदै सर्वसाधारणलाई सास्ती दिनु कानुन विपरीत हो । नाकामा खटिएका कर्मचारीहरूको यस्ता क्रियाकलाप नसुधार्ने हो भने नेपाल आउने बाह्य पर्यटकहरूमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ ।