शिक्षा संघ \संस्था

मेचीनगर २ को बालबालिकासँग वडा कार्यालय अभियान

भृकुटी । जाडो मौसम लागेसँगै मेचीनगर २ वडा कार्यालयले बालबालिकासँग वडा कार्यालय अभियान सञ्चालन गरेको छ । वडा कार्यालयबाट शिक्षा क्षेत्रमा छुटिने बजेट मध्ये केही बजेटबाट वडामा रहेका २ वटा सामुदायिक विद्यालयलाई न्यानो कपडा लगाउने अभियान सञ्चालन गरेको हो । वडामा रहेको मेचीन जनसाधारण मावि र भानु माविमा रहेका विद्यार्थीहरुका लागि जाडो मौसममा लगाउने ट्रयाक सुटको व्यवस्था गरेको हो ।

मेजसाका कक्षा १ देखि ८ सम्मका २२० र भानुका कक्षा १ देखि ६ सम्मका ११६ जना विद्यार्थीहरुका लागि उक्त व्यवस्था गरिएको वडा अध्यक्ष दिपक बरालले बताउनु भयो । उहाँका अनुसार शिक्षा क्षेत्रको बजेट मध्ये ३ लाख रुपैया बराबरको रकमले विद्यार्थीहरुका लागि कपडा लगाउने निर्णय गरिएको हो । बुधवार मेची जनसाधारण माविमा आयोजित एक समारोहका बिच विद्यार्थीहरुलाई कपडा वितरण गरिएको थियो भने आइतवार भानु माविमा वितरण गरिने अध्यक्ष बरालले बताउनु भयो ।

मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरगाईले वडाले आफ्नो क्षेत्रको विद्यालयलाई गरेको यो नौलो अभ्यासले सिंगो विद्यालय परिवार वडा अध्यक्षप्रति आभारी रहेको बताउनु भयो । उहाँले काम गर्नका लागि इच्छाशक्ति चाहिने बताउदै अध्यक्ष बरालले गरेको कार्यको उच्च प्रशंसनिय रहेको बताउनु भयो ।


अध्यक्ष बरालले वडाको विकाससँगै शैक्षिक क्षेत्रको विकासका लागि शिक्षा क्षेत्रमा सुधार गर्नु पर्ने बताउदै आगामी दिनमा यस क्षेत्रमा आएको बजेटलाई सहि ठाउँमा सदुपयोग गर्ने समेत बताउनु भयो । अध्यक्ष बराल भानु माविका पूर्व विद्यार्थी, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष तथा बाहुण्डाँगी जेसीजका निवर्तमान अध्यक्ष समेत हुन् ।