खेलकुद

भद्रपुर झापा गोल्डकप : एपीएपलाई पराजित गर्दै मछिन्द्र क्लब फाइनलमा

झापा । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा एपीएफ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र क्बलले अन्तिम दुईमा स्थान बनाएको हो । अब उपाधिका लागि मछिन्द्रले मंगलबार त्रिभुवन आर्मीसंग खेल्नुपर्ने छ ।

सुरूवात देखि नै आक्रमक बनेको मछिन्द्रले खेलको १७ औं मिनेटमा नै एपिएफ बिरुद्ध गोल गर्दै अग्रता लिएको थियो । मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए ।

दर्शकले भरिभराउ रंगशालामा गत वर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो । पहिलो हाफमा मछिन्द्र एपिएफमाथि हाबी देखियो । खेलको २५ औँ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार क्रसबार माथिबाट आकाशियो । खेलको ३५ औँ मिनेटमा सौरभ लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार एपिएफका गोलरक्षक अञ्जल श्रेष्ठको रोके ।

पहिलो हाफको अतिरिक्त समयमा एपिएफका सविन थापाको प्रहार क्रसबारमा ठोक्किएर बाहिरियो ।

दोस्रो हाफमा एपिएफले खेल सुधारेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई एपिएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपिएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।

आइतबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।