बाहुण्डाँगी । माडीको बघौडा अस्पतालमा गरिएको स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
नारायणगढ लेडी जेसिज र शिशु फर्टिलिटी क्लिनिक चौबिसकोठी भरतपुरको संयुक्त आयोजनामा शनिबार अस्पताल परिसरमा सम्पन्न शिविरमा महिलाहरूले भिडियो एक्स-रेको माध्यमबाट पाठेघर चेकजाँच सहितको स्वास्थ्य सेवा लिएका हुन् ।

शिविरमा निसन्तान सम्बन्धि डाक्टर परामर्श पनि दिइएको कार्यक्रम संयोजक सुमी सिंहले जानकारी दिइन् । शिविरमा सहभागीहरुमध्ये ६ जनामा निसन्तानको समस्या देखिएको सिंहले बताइन् ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले उद्घाटन गरेको शिविरमा नगर उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, स्वास्थ्य शाखा प्रमुख भोजराज खनाल, पूर्व नर्सिङ निरीक्षक पम्फा श्रेष्ठ, फर्टिलिटी क्लिनिकका चिरञ्जीवी ढकाल, चिकित्सक सुजन भुसाल, वडाअध्यक्षहरू पुरन महतो र दीपेन्द्र पौडेललगायतको आतिथ्य रहेको थियो । स्वस्थ्य क्षेत्रमा ३१ वर्षसम्म अनवरत सेवा गरेको भन्दै पूर्व नर्सिङ निरीक्षक पम्फा श्रेष्ठलाई नगरप्रमुख महतोले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

शिविरमा बघौडा अस्पतालकी डाक्टर सम्झना थापा, फर्टिलिटी क्लिनिकका चिकित्सक सुजन भुसाल र श्रद्दा श्रेष्ठले महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रम नारायणगढ लेडी जेसिजकी अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई जेसी गौरी गुरुङले सहजीकरण गरेकी थिइन् ।



