झापा । लघुवित्त संस्थाहरूको ज्यादतीका विरोधमा जिल्ला प्रशासन कार्यालय झापामा पीडितहरू अनिश्चितकालिन रिले अनशनमा बसेका छन् ।
विभिन्न बहानामा लघुवित्त संस्थाहरूले आफूहरूलाई दुःख दिने गरेको भन्दै पीडितहरू विगत ५ दिनदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुल गेटमा रिले अनशनमा बसेका हुन् ।

राज्य पक्षलाई बारम्बार जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि आफुहरू आन्दोलनमा उत्रिएको लघुवित्त पिडितहरू बताउँछन् । लघुवित्तबाट ऋण लिँदा केहि सहज हुन्छ । दैनिकीमा थप सुधार हुन्छ कि भनेको त अहिले आएर झन् समस्या भोग्नु परिरहेको उनीहरु बताउँछन् ।
विभिन्न प्रयोजनका लागि पिडित महिलाहरूले २५ हजारदेखि ५ लाखबढीसम्म ऋण लिएका छन् । तर, मिर्मिरे, छिमेकी, नाडेप, नेरुडे, एनआईसी एसिया लघुवित्तलगायतका संस्थाहरूको ज्यादतीले सीमा नाघेपछि न्यायको लागि अहिले जिल्ला प्रशासन गुहारेको लघुवित्त बिरुद्धको अभियानकी झापा संयोजक लुजा राइले बताइन् । उनले जिल्लाको विभिन्न क्षेत्रबाट यो तातो घाममा दिनभरी सयौं संख्यामा भेलाभएर पिडित महिलाहरु न्यायको माग गरिरहेका छन् । तर, सरोकारवाला निकायबाट पाँच दिन बितिसक्दा पनि कुनै पहलसमेत नभएको उनको भनाइ छ ।

लघुवित्त संस्थाहरूले समस्या दिएको भनेर कोहि पनि प्रशासनमा नआएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल बताउँछन् । प्रशासन कार्यालयको गेट अगाडी रिले अनशनमा बसेपछि मात्रै उनीहरु समस्यामा परेको बुझिएको छ । उनले भने अहिले पिडित महिलाहरुसंग छलफल भइरहेको छ । समस्या समाधानका लागि आफु लागि पर्ने उनी बताउँछन् ।

यसरी सोझा साझा महिलाहरुलाई विभिन्न बहानामा लघुवित्त संस्थाहरूले दुख दिँदा पनि सरोकारवाला निकाय मौन देखिनुले उनीहरु प्रति शंका उत्पन्न भएको छ । जुनसुकै बहानामा भएपनि सोझा साझा महिलाहरुलाई सास्ती दिनु गलत हो । यसतर्फ सबैको ध्यान जानु पर्ने देखिन्छ ।

