शिक्षा

प्याब्सन मेचीनगरको आयोजनामा ११ विद्यामा अतिरिक्त क्रियाकलाप सम्पन्न

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ ।
मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।

११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर र जुनियर विद्यार्थीहरुलाई प्रतिष्पर्धामा सहभागि गराइएको थियो । यस पटकको कार्यक्रम अलिक फरक र रोचक जस्तो देखिन्थ्यो । हरेक कक्षा कोठामा फरक विद्यामा विद्यार्थी प्रतिष्पर्धा गरिरहेका थिए । कतै ड्रोइङ त कतै कलरिहङ, राम्रो हेन्डराइटिङ बनाएर उत्कृष्ट हुने अभिलासा लिएका विद्यार्थी समेत लेख्न तम्तयार देखिन्थे । शिक्षकहरुलाई प्रश्नपत्र बोकेर दौडिन भ्याइ नभ्याई जस्तो देखिन्थ्यो । भने मञ्चको अग्रभागमा विद्यार्थी अंग्रेजी र नेपाली भाषामा खरो प्रस्तुती दिइरहेका थिए ।

प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीको सभापतित्व तथा मेचीनगर – ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष धमलाले विद्यार्थीहरुको क्षमता विकासकोलागि संस्थागत विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

‘साना नानीहरु धेरै मानिसको बीचमा मञ्चमा उभिएर निर्धक्क भएर बोल्नुपनि उनीहरुको लागि एउटा सफलता हो,’ उनले भने, ‘आज मञ्चमा उभिएर बोल्ने हिम्मत गर्छन, त्यो हिम्मतले भोलि उनीहरुको जीवनमा आत्मविश्वास बढ्नुका साथै समाजमा नेतृत्व स्थापित गर्न मद्दत पुग्छ ।’ शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै निजी विद्यालयले देशमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको उनको भनाई थियो ।

प्याब्सन जिल्ला सचिव लक्ष्मीप्रसाद उप्रेतीले प्याब्सनको क्यालेण्डर अनुसार तय भएको कार्यक्रम आज जिल्लाभर एक साथ भइरहेको बताए । प्याब्सन अन्तर्गत झापामा ३१९ वटा सदस्य विद्यालय रहेको उनले बताए । ‘हामी हरेक विद्यार्थीको उज्ज्वल भविश्य खोजिरहको छौं, सबैलाई सक्षम र सवल बनाउनु छ । त्यसैले पढाई सँगसँगै विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने अभियानमा छौं, ’ उनले भने ।

कार्यक्रममा जिल्ला अध्यक्ष छत्र कार्की, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक जिल्ला सदस्य भोज बहादुर कार्की, रमेश बराल, जिल्ला सल्लाकार हिम्मत क्षेत्री, जिल्ला प्राज्ञिक सदस्य हरि अधिकारी, नगर कार्यसमितिकी कोषाध्यक्ष समिक्षा गौतम लगायतको आतिथ्यता रहेको थियो ।

प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिमल पौडेलले गरेका थिए । कार्यक्रममा १९ वटा विद्यालय सहभागि भएको आयोजक तथा कार्यक्रम व्यवस्थापन विद्यालय एभरेष्ट भ्यू अंग्रेजी माविका शिक्षक रूपसागर अधिकारीले जानकारी दिए ।