काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको गैरजिम्मेवारीका कारण उत्पन्न परिस्थितिले मुलुक सर्वसाधारण नेपालीले कल्पनै नगरेको विषम परिस्थितिमा पुगेको छ । प्रधानमन्त्री राजीनामा दिएर भूमिगत भएका छन् । राजनीतिक शून्यता भएको छ । २४ घण्टामा देशको सबै संरचना भताभुंग भइसकेको छ । प्रधानमन्त्रीलगायतले राजीनामा दिइसकेकाले अबको संवैधानिक अन्योल छ ।
अब जेनजी पुस्ताको माग अनुसार राष्ट्रिय सरकार बनाउने भनिएको छ । तर, शासकीय स्वरुपको आगामी चित्र स्पष्ट भइसकेको छैन । काठमाडौं लगायत मुलुकका विभिन्न भागमा जेनजी पुस्ताका नाममा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायतलाई आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै समाधानको उपाय खोज्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा स्वीकृति भइसकेपछि यो विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन वार्तामा आउन म सबै पक्षलाई अपिल गर्छु,’ उनले भनेका छन् ।
नेपाली सेनाले पनि एक विज्ञप्ति जारी गर्दै सबैलाई संयमता अपनाउन अपिल गरेको छ । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको हो । ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको’ सेनाले स्मरण गराएको छ ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’ सेनाले सम्भाविक अराजकताप्रति चिन्ताको संकेत गरेको छ ।

‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ सेनाले भनेको छ । यसैबीच सेनाले परिस्थिति सहजीकरणका लागि आन्दोलनकारीसँग राष्ट्रपतिको वार्ता गराउन खोजेको छ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सार्वजनिक सम्बोधन गर्दै आन्दोलनमा आउन आग्रह गरेका छन् ।
‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो । त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु,’ उनले भने । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा. सन्दुक रुइत, कुलमान घिसिङ र कलाकार राजेश हमालले पनि आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन् । पूर्वप्रधानन्याधीश कार्कीले आन्दोलनकारीको मकसद भौतिक सम्पति तोडफोड र ध्वंस नभएकाले संयमित हुनुपर्ने बताएकी छन् ।
अहिलेसम्म आन्दोलनको परिदृश्यमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह जेनजीको मन पराइएका व्यक्तिका रुपमा देखिएका छन् । उनले भने वार्ताको विषय संसद् विघटनको घोषणा भएमात्रै अघि बढ्ने सर्त राखेका छन् । रास्वपा र राप्रपाले संसद् सदस्यबाट राजीनामाको घोषणा गरे पनि राष्ट्रपति पौडेललाई संसद् विघटनको घोषणा गर्न संवैधानिक अडचन छ । यसको प्रष्टचित्र आउन केही दिन लाग्ने देखिएको छ । अहिलेलाई आन्दोलनका नाममा भइरहेको ध्वंस रोकेर तोडफोड गरिरहेका समूहलाई घर कसरी फर्काउने भन्ने प्रश्न जटिल देखिएको छ ।
यसबीच जेनजीका तर्फबाट भन्दै सामाजिक सञ्जालमा वितरित विज्ञप्तिमा जनविद्रोह सफलताको अन्तिम चरणमा पुगेको भन्दै ५ बुँदे माग सार्वजनिक गरिएको छ । ‘राजनीतिक पुस्तान्तरणको बहससँगै सामाजिक सञ्जालमा चलिरहेको जेनजी लहरलाई पछ्याउँदै देशैभरीबाट आन्दोलनमा सहभागी भई यो सफलताको घडीसम्म आइपुग्दै गर्दा हामी जटिल तथा निकै महत्वपूर्ण स्थितिमा आइपुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अब देशमा पुरानो सत्ताको विकल्प नयाँ सत्ता निर्माणको अभिभारालाई हामीले कुशलतापूर्वक अघि बढ्नेछौं । पुरानो संस्थापनसँग कुनै सम्झौता हुनसक्दैन । यसमा हामी सचेत छौं ।’
नेपाली सेनाले गैरलोकतान्त्रिक ढंगबाट कुनै कार्य नगरोस् भन्ने अपेक्षा गर्दै यस संक्रमणको चरणमा हार्दिकता साथ सघाउन सबै पक्षलाई जेनजीले आग्रह गरेको छ । जेनजीले पुनर्निर्माण तथा आत्मनिर्भर उत्पादनका लागि श्रममा आबद्ध हुने प्रतिबद्धता व्यक्त गरेको छ । आन्दोलनका सबै कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउँदै व्यक्तिगत हमला र थप सार्वजानिक सम्पत्तिको तोडफोड आदि नगर्न र विभिन्न आर्कमा प्रदर्शनरतलाई संयमतापूर्वक सुरक्षित स्थान रहि सम्पर्कमा फर्कन आग्रह जेनजीले आग्रह गरेको छ ।
यस्ता छन् माग
- गत सोमबारदेखि देशैभर सुरु भएको जेनजी आन्दोलनका क्रममा राज्यका तर्फबाट हत्या गरिएका सम्पूर्णलाई क्षतिपूर्तिसहित सहिद घोषणा गर्ने साथै सबै घाइते साथीहरूका गुणस्तरीय उपचार तथा सम्मानसहित जीवनयापनको आधार तयार गर्ने ।
- निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित सबै दलका नेताहरू तथा सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तथा सबै दलका शीर्ष नेताहरूलाई फौजदारी अपराधमा कारवाही गर्ने ।
- आन्दोलनका क्रममा राज्यबाट भएका सबै दमनका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक अयोग गठन गर्ने ।
- हालको संघीय र प्रदेश सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्ने र अति शीघ्र जेनजी राष्ट्रिय सम्मेलन गर्ने ।
- नेपालको संविधान २०७४ मा भएका आधारभूत संरचनालाई संरक्षण गर्दै प्रगतिशील पुनर्लेखन गर्ने ।
सेना परिचालित
मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको थियो । सूचनाका बाबजुद यस किसिमका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने पूर्वघोषणाअनुसार सुरक्षा संयन्त्र परिचालित भएको छ ।
पशुपतिनाथ क्षेत्रमा पुगेको अराजक भीडलाई सेनाले त्यहाँबाट हटाएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने काम’ गरेको भनेको थियो ।
यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।