लमजुङ जेसिजको ११ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।
बेंसीशहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले विकृति र विसंगतिमा फसेका युवालाई जेसिजमा आवद्ध गराउँदै समाजमा राम्रो काम गरेर स्थापित हुन सकेमा जेसिजको गौरव बढ्ने बताउनुभयो । ब्यक्तित्व र नेतृत्व विकास गर्ने लक्ष्य रहेको जेसिजले समाजमा राम्रा राम्रा काम गर्दै समाज परिर्वतनमा विषेश भूमिका खेल्दै आएको बताउनुभयो । आगामी दिनमा समाज निर्माणका लागि जेसिज तथा युवाहरुसँगै समन्वय गर्दै नगरपालिका अगाडी बढ्न तयार रहेको बताउनुभयो । समाज परिर्वतनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न जेसिज तयार रहेमा आवश्यक बजेट समेत उपलब्ध गराइने नगर प्रमुख अर्यालले बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिजका वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष पायल शर्मा दनाई, लमजुङ जेसिजका पूर्वअध्यक्षहरु राजु अर्याल, सुरेशकुमार प्रधान, सिता श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मिलन गुरुङ, लियो क्लबका अध्यक्ष रोनिश परियारलगायतले मन्तव्य राख्दै समाज परिवर्तन गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

भेलाबाट लमजुङ जेसिज वर्ष २०२१ का लागि अध्यक्षमा विकास श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कार्यकारिणी उपाध्यक्षमा सन्तोष श्रेष्ठ, पुजा दनाई रहनुभएको छ । उपाध्यक्षमा गोमा जोशी, नारायणप्रसाद सेढाई, विष्णु उपाध्याय, रोशन खतिवडा चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा देवेन्द्र गुरुङ, कानुनी सल्लाहकारमा आइसा मिया र कोषाध्यक्षमा प्रेम गुरुङलाई चयन गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई निर्वतमान अध्यक्ष मियाले सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्ना पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा लमजुङ जेसिजले जेसिजमा आवद्ध ६ जनालाई सम्मान गरिएको छ । वर्ष २०२० मा विभिन्न माध्यमबाट जेसिजलाई सफल बनाउन विषेश भूमिका निर्वाह गरेको भन्दै जेसिजका जनक श्रेष्ठ, रहमतदिन मिया, सुरेशकुमार प्रधान, आईसा मिया, पायल शर्मा दनाई, गोमा जोशीलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमम वर्ष २०२० का अध्यक्ष रहमतदिन मियाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जेसिजका उपाध्यक्ष विष्णु उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव प्रेम गुरुङले गर्नुभएको थियो ।

