काठमाडौं । जेनजी आन्दोलनमा भौतिक र मानवीय क्षति बेहोरेर मनोबल गिरेको प्रहरी अहिले पनि त्रसित छ ।आफ्ना आँखै अगाडि सहकर्मीलाई कुटीकुटी मारिएको दृश्य ताजै छ ।
बर्दी फुकालेर आत्मसमर्पण गरेर बाँच्नु परेको पीडा आलै छ । ढल मिसिएको खोलैखोला भाग्दा पनि किनारबाट ढुंगा बर्साएको कुरूप दृश्य पनि आँखै अगाडि नाचिरहन्छ । यी घटनाले प्रहरी झस्किरहन्छन् ।
जेनजी आन्दोलनपछि मनोबल गिरेको प्रहरी अझै तंग्रिन सकेको छैन । केही समुदाय तथा विभिन्न संघस्थाले प्रहरीको मनोबल उकास्न काम पनि गरिरहेका छन् ।
विस्थापित प्रहरी चौकीलाई पुनर्स्थापित गर्नेदेखि प्रहरी कर्मचारीलाई फूलमालाले स्वागत गर्नेसम्म काम भएका छन् । तर त्यतिले मात्रै प्रहरीको मनोबल उठिहाल्ने अवस्था छैन ।
प्रहरीको मनोबल उकास्न ढुक्क भएर स्वतन्त्र तवरले काम गर्ने वातावरण बनाउनुपर्ने सुझाव सुरक्षाका जानकारहरूको छ । यसका लागि समुदायदेखि सरकारको मुख्य दायित्व रहन्छ । राज्यले स्रोत–साधनयुक्त बनाएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण प्रहरीलाई बाउनुपर्ने हुन्छ ।

