काठमाडौं, चैत ५ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।
उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ । युरोप र अमेरिका निकै आक्रान्त हुँदै गएका छन् । ईटलीमा मृतक संख्या २५ सय नाघेको छ ।
विश्वभर ८ हजार जना भन्दा बढीको मृत्यु भइसकेको छ । एक लाख अन्ठानब्बे हजार ४ सय २२ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो । ८२ हजार ७ सय ६२ जनामा संक्रमण भएर उपचारपछि स्वास्थयलाभ गरी घर फर्किएका छन् । यो रोग एक सय ६५ देशमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यो महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी चीनका नागरिक रहेका छन्। चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ।
चिकित्सक भन्छन्, सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ। तर ज्येष्ठ नागरिक र पहिल्यैदेखि, मधुमेह, मुटुको रोगजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार यस भाइरसबाट बच्न बेला–बेलामा साबुनपानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वाससम्बन्धी सरसफाइमा विशेष ध्यान दिने गर्नुपर्छ। खोक्दा, हाँछ्यु गर्दा नाकमुख छोप्नु पर्दछ ।
विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन।

