धर्म संस्कृती

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

काठमाडौँ। तिहारको महत्वपूर्ण दिन भाइटीकाको अवसरमा आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने विधि सम्पन्न गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको दिनभर टीका लगाउन कुनै बाधा नभए तापनि उत्तम साइत बिहान ११:३९ बजे रहेको छ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनीले पूर्वतर्फ र टीका लगाइ माग्ने दाजुभाइले पश्चिमतर्फ फर्कने परम्परा रहेको छ। यमद्वितीया को रूपमा पनि चिनिने आजको दिनमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पारम्परिक विधिपूर्वक टीका लगाउने गर्दछन्।

धार्मिक मान्यताअनुसार आजको दिन दिदीबहिनीको पूजाले अखण्ड सौभाग्य र ऐश्वर्य प्रदान गर्ने विश्वास गरिन्छ। टीका पश्चात दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला र सेलरोटी जस्ता पारम्परिक व्यञ्जनहरू प्रदान गर्ने चलन छ भने दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिएर आदर प्रकट गर्ने गर्दछन्।