संघ \संस्था

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान

मेचीनगर । मेचीनगर– १० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

यहाँ स्थित शान्ति समाजको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सापकोटाले पछिल्लो समय सहकारीलाई कमजोर बनाउन अराजक तत्वहरुसक्रिय भइरहेको बताए । उनले सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै केही व्यक्तिहरुले समाजमा सहकारी प्रति नकारात्मक भाव फैलाइरहेको भन्दै त्यस्तो गलत प्रचारको पछि नलाग्न उनले आग्रह समेत गरे ।

‘सहकारीमा तपाईँ सदस्यहरुले दुःख गरेर जम्मा गरेको पैसा राख्नु हुन्छ, अनि अबर परेकाले ऋण लिनु हुन्छ,’ उनले भने, ‘ऋण लिनेले ऋण तिरेन भने तपाइँको प्रैसा कसरी फिर्ता हुन्छ, के तपाई सहकारीमा राखेको पैसा माया मार्न सक्नु हुन्छ ? उनले प्रश्न गरे ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष वीपी भट्टराईले सहकारीलाई कमजोर बनाउन पछिल्लो समय सरकार अनि केही अराजक व्यक्तिहरु सक्रिय भइरहेको भन्दै त्यसको आलोचना गरे ।

उनले झापा जिल्लामा दुई चारवटा सहकारीमा समस्या देखिएको भएपनि बाँकी सबै सहकारी गतिशील रुपमा सञ्चालन भइरहेको दावी समेत गरे ।

कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष चन्द्र कुमार भट्टराईले सहकारी स्थापनाको समयमा भोगेका कठिन परिस्थितलाई स्मरण गर्दै सहकारी अव युवा अवस्थामा प्रवेश गरेको भन्दै खुशी व्यक्त गरे । उनले सहकारीका खास मालिक शेयर सदस्य भएकोले सदस्यहरुले आफ्नो संस्थाको अवस्थाको बारेमा विशेष ध्यान दिनु पर्ने बताए ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय धुलाबारीका कार्यालय प्रमुख प्रेम कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष चुडामणि बराल, निवर्तमान अध्यक्ष पशुपति नेपाल, शान्ति समाजका अध्यक्ष इन्द्रबहादुर थापा मगर, धुलाबारी माविका अध्यक्ष गणेश विक्रम नेम्बाङ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसररमा सहकारीले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई यसवर्षबाट असल सहकारी सदस्यको रुपमा सम्बोधन गर्दै सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिक दलबहादुर पुलामी, सरस्वती राई, असल ऋणी सदस्य सम्मान पूर्णमान तामाङ, र असल बचतकर्ता सदस्यको रुपमा प्रशाान्त नेपाललाई नगद सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो । सम्मानित व्याक्तित्वहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान गरेका थिए ।

सहकारी संस्थाका अध्यक्ष विष्णु कुमार लिम्बूको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष लिम्बूले संस्थाको वार्षिक प्रगति समेतिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष शुभाष गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक गंगाबहादुर मगरले गरेका थिए ।