खेलकुद

मेची व्याडमिन्टन क्लबले सञ्चालन गर्यो व्याडमिन्टन खेलाडीलाई नि:शुल्क प्रशिक्षण

मेचीनगर । मेची व्याडमिन्टन क्लबको नवनिर्वाचित कार्यसमितिले खेलाडी उत्पादन गर्ने उद्देश्यसहित निजी स्रोतबाट प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ।

माघ १ गतेदेखि सुरु गरिएको प्रशिक्षण कार्यक्रममा हालसम्म २० जना प्रशिक्षार्थी सहभागी भइसकेका छन्। उनीहरूलाई पुर्व राष्ट्रिय व्याडमिन्टन खेलाडी दिपक घिमिरेले प्रशिक्षण गरिरहेका हुन् । उनलाई मेची व्याडमिन्टन क्लबले ६ महिनाको लागि निजी स्रोतबाट सेवा सुविधा उपलब्ध गराउने गरि प्रशिक्षकमा नियुक्ति गरिएको क्लबका सचिव राजेश राउतले जानकारी दिए । उनले प्रशिक्षणमा मेचीनगरका जुनसुकै क्षेत्रबाट पनि खेलाडीहरू सहभागी जनाउन सकिने बताए ।

प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने प्रशिक्षणमार्फत आधारभूतदेखि प्रतिस्पर्धात्मक तहसम्मका खेलाडी उत्पादन गर्ने लक्ष्य क्लबले लिएको छ।

प्रशिक्षार्थीहरूलाई व्याडमिन्टनका प्राविधिक सीप, खेल अनुशासन तथा शारीरिक तन्दुरुस्तीमा विशेष ध्यान दिइँदै आएको क्लबका अध्यक्ष प्रितम काफ्ले बताउँछन् । उनले स्थानीय स्तरमै प्रतिभा पहिचान गरी व्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।

२०६१ सालमा स्थापना भएको मेची व्याडमिन्टन क्लबले अहिले नयाँ नेतृत्व पाएपछि प्रशिक्षण लगायत विभिन्न कार्यक्रमहरू अगाडि सार्न थालेको छ । यस पहलले मेचीनगरमा व्याडमिन्टनप्रति युवाहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।