संघ \संस्था

लोकतन्त्र म्यागजिन लोकापर्णसँगै १५ जेनजी सम्मानित

झापा । ‘गरिखाने संस्कृतिको पुनर्जागरण’ भन्ने नारासहित लोकतन्त्र म्यागजिन लोकापर्णसँगै झापाका १५ जेनजी युवा सम्मानित भएका छन् ।

नौ वर्षअघि प्रकाशन आरम्भ गरेको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक विशेष म्यागजिन सार्वजनिक गर्दै श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिँडेका १५ जना जेनजी युवालाई सम्मान गरेको हो ।

काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.द्वारा सञ्चालित पत्रिकाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारिएको म्यागजिनको लोकार्पणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठित छनौट समितिले १५४ जना पौरखी युवामध्येबाट १५ जनालाई छनौट गरेको थियो ।

प्रधान सम्पादक मोहन काजी न्यौपानेका अनुसार ‘पौरखी जेनजी’ केवल एउटा म्यागजिन मात्र होइन, जेनजी पुस्ताले थालेको श्रम र उद्यमको आन्दोलनको दस्तावेज हो । ‘आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई चिनाउने उद्देश्यले यो अभियान सुरु गरेका हौं,” उनले भने, “जेनजी पुस्तालाई नकरात्मक दृष्टिले होइन, परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नु हाम्रो ध्येय हो ।”

कार्यक्रममा सम्मानित हुनेमा स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, डा.चेतनराज कार्की, गायिका रचना रिमाल, सविन बास्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, मनिषा राजवंशी अंकित सुवेदी तथा राहुल-तेज-उत्सवको समूह रहेका छन् ।

उनीहरुलाई प्रमुख अतिथि गिरी, प्रधान सम्पादक काजी, सम्पादक अम्बिका भण्डारी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा सम्मान गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि गिरी, कार्यकारी सम्पादक दामोदर ढुङ्गेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरी, सम्मानितहरूको तर्फबाट स्वेता बुढाथोकी र सेवन कार्कीले बोलेको कार्यक्रमको सहजीकरण महासंघका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।