राजनीति

मेचीनगर–८ मा एमालेको युवा शक्ति सक्रिय, रामचन्द्र उप्रेतीलाई जिताउन ५१ सदस्यीय परिचालन कमिटी गठन

मेचीनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं–१ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। मेचीनगर–८ मा नेकपा एमाले निकट युवाहरूले उम्मेदवार रामचन्द्र उप्रेती लाई विजयी गराउने लक्ष्यसहित संगठनात्मक तयारी तीव्र बनाएका छन्।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर–८ को बृहत् युवा भेलाले ललित थामीको अध्यक्षतामा बैठक गर्दै आकाश ढुंगानाको संयोजकत्वमा ५१ सदस्यीय युवा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आगामी निर्वाचनमा घरदैलो, टोलस्तरीय भेटघाट र मतदाता परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले कमिटी गठन गरिएको जनाइएको छ।

भेलामा युथ भोलिन्टर फोर्सका केन्द्रीय सदस्य रघु धिमाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने झापा सदस्य तेजन राजबंशी विशिष्ट अतिथि रहेका थिए। त्यस्तै सञ्जय थामी, विकास माझी, मेचीनगर–८ का जनप्रतिनिधिहरू, आर्थिक संयोजक तथा निर्वाचन परिचालन सह–संयोजकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आकाश ढुङ्गानाले गरेका थिए।

कार्यक्रममा वक्ताहरूले युवा शक्ति नै निर्वाचनको निर्णायक आधार भएको उल्लेख गर्दै संगठित र योजनाबद्ध ढंगले मतदाता समक्ष पुग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले एमालेको नीति, कार्यक्रम र उम्मेदवारको विकास दृष्टिकोणलाई घर–घरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय तहदेखि संघीय तहसम्म पार्टीको सुदृढ संगठन निर्माणमा युवाको सक्रिय भूमिका रहने विश्वास व्यक्त गर्दै भेलाले आगामी दिनमा नियमित बैठक, मतदाता सूची अद्यावधिक तथा टोल–स्तरीय अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

झापा क्षेत्र नं–१ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला मेचीनगर–८ मा युवाहरूको यस्तो सक्रियताले चुनावी माहोल थप तातिएको छ ।