मुक्ति पाैडेल
झापा । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै झापा क्षेत्र नम्बर १ फेरि एकपटक राष्ट्रिय राजनीतिको ध्यान केन्द्रमा आएको छ। १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल रहेको यो क्षेत्र भौगोलिक रूपमा मात्रै होइन, आर्थिक र सामरिक दृष्टिले पनि संवेदनशील मानिन्छ। वि।सं। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक कांग्रेसले युवा नेता केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ।
सीमावर्ती मेची भन्सार, ड्राइपोर्ट, अन्तर्राष्ट्रिय व्यापारको सम्भावना, सुकुम्बासी बस्ती, हात्तीको आक्रमण र नदी कटानजस्ता जटिल समस्याबीच पाण्डे आफूलाई ‘रैथाने उम्मेदवार’को रूपमा प्रस्तुत गरिरहेका छन्।
तत्कालीन ज्यामिरगढी गाउँपालिका वडा नम्बर ८ मा जन्मिएका पाण्डेको बाल्यकाल पूर्वी झापाकै सामान्य मध्यमवर्गीय परिवारमा बित्यो। अरनिको स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले कक्षा ४ बाट काँकरभिट्टा मावि हुँदै कनकाई क्याम्पस, बिर्तामोडमा उच्च शिक्षा हासिल गरे।
उनको राजनीतिक यात्रा २०४६–४७ को जनआन्दोलनताकै सक्रिय सहभागिताबाट सुरु हुन्छ। २०४९ सालको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएपछि उनी संगठित राजनीतिमा स्थापित भए। नेपाल विद्यार्थी संघबाट सक्रियता सुरु गरेका पाण्डेले २०५२ सालदेखि व्यवसाय पनि थाले—“राजनीति मात्रै गरेर हुँदैन,” भन्ने निष्कर्षका साथ।
नेपाली कांग्रेसको ११ औँ र १२ औँ महाधिवेशनमा प्रतिनिधि, १३ औँ र १४ औँ महाधिवेशनमा महासमिति सदस्य हुँदै उनले पार्टी संरचनामा निरन्तर भूमिका खेले। दुई कार्यकाल जिल्ला सदस्य र उद्धव थापाको कार्यकालमा जिल्ला कोषाध्यक्षको जिम्मेवारी सम्हालेका उनी संगठन र व्यवसाय दुवै पाटोको अनुभवलाई आफ्नो बलियो पक्ष ठान्छन्।
झापा–१ लाई पाण्डे “अत्यन्तै सुन्दर र सम्भावनायुक्त” क्षेत्र भन्छन्। पञ्चायतकालमै ६० बिगाहा जमिन छुट्याइएको, मेची भन्सार कार्यालय, ड्राइपोर्ट निर्माण, र भुटान–बंगलादेश–भारत हुँदै बर्मासम्म जोडिने स्थलगत मार्गको अवधारणा—यी सबैलाई उनी दीर्घकालीन विकासका आधारका रूपमा व्याख्या गर्छन्।
नेपाल समुद्रसँग नजोडिएको मुलुक भएकाले २०५४ सालमा प्राप्त पारवहन मार्गको सन्दर्भ उठाउँदै उनी पूर्वी नाकाको रणनीतिक महत्त्व औँल्याउँछन्। “कलकत्ताको पोर्टले मात्रै थेग्न सक्दैन,” भन्ने दृष्टिकोणसहित वैकल्पिक व्यापार मार्ग विस्तारमा जोड दिनुपर्ने उनको तर्क छ।
तर सम्भावनासँगै समस्या पनि गहिरा छन्। सुकुम्बासी बस्तीको लालपुर्जा विहीन अवस्था, हात्तीको वार्षिक आक्रमणबाट हुने धनजन क्षति, र मेची तथा निन्दा नदीको कटान—यी तीन मुद्दालाई पाण्डे ‘विकासको पूर्वशर्त’को रूपमा प्रस्तुत गर्छन्। “लालपुर्जा बिना मान्छे असुरक्षित महसुस गर्छ। जग्गाको मालिक नबनाई विकासको कुरा अधुरो हुन्छ,” उनी भन्छन्।
झापा–१ मा युवाहरूको ठूलो हिस्सा वैदेशिक रोजगारीमा निर्भर छ। पाण्डे यसलाई सीप र अवसर अभावसँग जोड्छन्। पर्यटन र कृषि यहाँको मुख्य सम्भावना भएको दाबी गर्दै उनी कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र कृषि मण्डीको स्थापना आफ्नो प्राथमिकतामा राख्छन्।
“कृषकले आफ्नै उत्पादन सोझै मण्डीमा बेच्न पाए भने बीचौलियाको दबाब घट्छ,” उनी भन्छन्। ड्राइपोर्टको पूर्ण सञ्चालन र साना–मझौला उद्योगको विस्तारमार्फत स्थानीय रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।
हात्ती समस्याबारे उनी भावनात्मक र व्यवहारिक दुवै दृष्टिकोण प्रस्तुत गर्छन्। “हात्ती पनि प्रकृतिको उत्पादन हो। मारेर समाधान हुँदैन,” भन्दै स्थायी र वैज्ञानिक उपाय खोज्नुपर्ने उनको धारणा छ।
नदी कटान रोक्न तटबन्ध निर्माण, नगरपालिकासँग समन्वय, र क्षेत्रलाई ‘हरित क्षेत्र’ घोषणा गरेर योजनाबद्ध विकास गर्नुपर्ने उनी बताउँछन्। बाटाघाटा, बिजुली, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारमा राज्यको गम्भीर ध्यान आवश्यक रहेको उनको जोड छ।
स्वास्थ्य र शिक्षालाई राज्यको मूल दायित्व मान्दै पाण्डे विकसित राष्ट्रहरूको उदाहरण दिन्छन्। उपचार अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने मान्यतासहित स्वास्थ्य बीमा कार्यक्रम, दीर्घरोगीका लागि मासिक औषधि सहायता, र निःशुल्क डायलोसिस जस्ता कार्यक्रमलाई उनी उपलब्धिका रूपमा उल्लेख गर्छन्।
शिक्षामा पूर्ण निःशुल्क अवधारणा र लगानीमैत्री वातावरण सिर्जना नगरेसम्म उद्यमशीलता विकास नहुने उनको तर्क छ। “उद्योगधन्दा स्थापना र निरन्तरता दिन नसक्नु हाम्रो कमजोरी हो,” उनी स्वीकार्छन्।
आफू यहीँ जन्मे–बढेको व्यक्ति भएकाले माटोसँगको सम्बन्ध अरुभन्दा गहिरो भएको पाण्डेको दाबी छ। कृषकको छोरो र निजी क्षेत्रको अनुभव भएको उम्मेदवारका रूपमा स्थानीय समस्या बढी बुझेको उनी बताउँछन्।
सार्वजनिक बहसका लागि सधैं तयार रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई सामान्य प्रक्रिया भनेका छन्। “मसँग अहङ्कार छैन, प्रश्न गर्नुस्, जवाफ दिन्छु,” भन्दै उनी मतदातासँग प्रत्यक्ष संवादको प्रतिबद्धता जनाउँछन्।
झापा–१ को निर्वाचन परिणामले सीमावर्ती विकासको बहस कता मोडिन्छ भन्ने संकेत दिनेछ। अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको यो क्षेत्रमा यसपटक पाण्डेको उम्मेदवारीले संगठनको निरन्तरता र नयाँ अनुहारको परीक्षण दुवैलाई प्रतिनिधित्व गर्छ।
सुकुम्बासीको लालपुर्जा, चिया उद्योगको संकट, मानव–वन्यजन्तु द्वन्द्व, नदी कटान र अन्तर्राष्ट्रिय व्यापार विस्तार—यी मुद्दा मतदाताको दैनिकीसँग गाँसिएका छन्। पाण्डेले उठाएका एजेन्डा कार्यान्वयनको तहसम्म पुग्छन् कि चुनावी भाषणमै सीमित रहन्छन्, त्यो भने मतदाताको फैसला पछि मात्रै स्पष्ट हुनेछ।
फागुन २१ नजिकिँदै गर्दा झापा–१ मा चुनावी सरगर्मी बढ्दो छ। सीमावर्ती सम्भावनाको यो भूगोलले कस्तो प्रतिनिधि रोज्छ—त्यसले पूर्वी नेपालको विकास–दिशामा नयाँ अध्याय थप्न सक्छ।

