मेचीनगर । झापा–१ मा चुनावी माहोल दिनदिनै तातिँदै गएको छ। प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलका उम्मेदवार यतिबेला घरदैलो, टोलभेट, चिया–गफ र साना–ठूला सभामार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
यसैक्रममा नेकपा एमालेका तर्फबाट झापा–१ का उम्मेदवार रामचन्द्र उप्रेतीले मतदातासँग भेटघाटलाई प्राथमिकता दिँदै अभियान तीव्र बनाएका हुन्। गाउँ–बस्ती पुगेर स्थानीय समस्या, अपेक्षा र सुझाव सुन्दै उप्रेतीले “राष्ट्रिय शक्तिलाई बलियो बनाउँदै देशलाई समृद्धिको दिशामा लैजान स्थिर र अनुभवी नेतृत्व आवश्यक रहेको” धारणा राख्दै आएका छन्।
मतदाताले अहिलेको राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक बुझेका छन्। “देशलाई बलियो बनाउन र विकासको गतिलाई निरन्तरता दिन समृद्धिको स्पष्ट दृष्टिकोण भएको दल एमालेलाई मत दिनुपर्छ भन्ने जनचेतना बढ्दो छ,” उम्मेदवार उप्रेतीले भने भेटघाटका क्रममा मतदाताले आफ्नो विश्वाशिलो पार्टी एमाले र सुर्य चिन्ह नै रहेको बताउने गरेको छन् । सबैले माया र साथ दिई रहेको हुँदा यो विश्वास मतदानको दिन मत पेटिकामा पर्ने उनको भनाइ छ ।
झापा–१ मा एमालेसहित अन्य दलका उम्मेदवारहरू पनि सक्रिय रूपमा प्रचारप्रसारमा जुटेका छन्। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा टोलस्तरका छलफल, युवासँग अन्तरक्रिया, महिला समूहसँग संवाद र स्थानीय अगुवासँग बैठकहरू नियमित रूपमा भइरहेका छन्।
स्थानीय मतदाताहरू विकास, रोजगारी, पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिक मुद्दाका रूपमा उठाइरहेका छन्। उम्मेदवारहरू पनि यिनै विषयलाई केन्द्रमा राखेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरिरहेका छन्।
चुनाव नजिकिँदै जाँदा झापा–१ को राजनीतिक वातावरण थप सक्रिय र प्रतिस्पर्धी बन्दै गएको छ। घरदैलो अभियानले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गरेको छ, जसले चुनावी समीकरणलाई प्रभाव पार्ने देखिन्छ ।

