धुलाबारी । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धुलाबारी जेसीजले झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवारसँग मतदाताको प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा हालसम्म ८ जना उम्मेदवार सहभागी हुन सहमत भइसकेका छन् भने अन्य उम्मेदवारलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ। धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालले मतदाताले आफ्नो नाम, ठेगाना र जिज्ञासा लिखित रूपमा बुझाउनुपर्ने जानकारी दिए। प्रश्नकर्ता झापा–१ भित्रका मतदाता मात्र हुनुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रम फागुन १२ गते मंगलबार मध्याह्न १२ बजे धुलाबारीस्थित जेसीज टाउन हलमा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कार्यक्रमलाई मर्यादित र विवादरहित बनाउन हलभित्र गुणात्मक उपस्थितिको अपेक्षा गरिएको आयोजकले जनाएको छ।
पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले ककस कार्यक्रमको मर्म जोगिने गरी मौखिक रूपमा प्रत्यक्ष प्रश्न गर्न सकिने वातावरण बनाउन सुझाव दिएका थिए।
धुलाबारी जेसीजका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष केशव पोख्रेल, धुलाबारी लेडी जेसीजका महासचिव कल्पना प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम धुलाबारी जेसीजसँगै बाहुण्डाँगी जेसीज, चारआली जेसीज र जेडी जेसीज धुलाबारीको संयुक्त आयोजनामा सम्पन्न हुने आयोजकले जनाएको छ।
आयोजकले झापा–१ का मतदातालाई कार्यक्रममा सहभागी भई उम्मेदवारसमक्ष आफ्ना जिज्ञासा राख्न आग्रह गरेको छ।

