स्वास्थ्य

वीएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा

झापा, चैत १४ । प्रदेश १ कै सुविधा सम्पन्न हस्पिटलको रुपमा रहेको झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको संक्रमणबाट नेपालीलाई बचाउनका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल प्रदान गर्ने घोषणा गरेका हुन् ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारसँग हस्पिटलले कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि पिपिई सेट र मास्क उपलब्ध गराउन माग्दा उपलब्ध नगराइएकाले यसअघि उपचार गर्न नसकिएको जनाएको छ ।

हस्पिटलसँग रहेको एक सय बेडको आईसीयु, आठ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर र पाँच सय बेडको क्वारेन्टाइन सञ्चालनका लागि धाइजनमा तयारी अवस्थामा भवन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितको स्वास्थ्यकर्मीलाइ आवश्यक व्यवस्थापन गर्दै सरकारले आजैका मितिदेखि प्रयोजन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको महामारी रोक्नका लागि बिएण्डसी हस्पिटलले राज्यलाइ सहयोग गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

Leave a Reply

Your email address will not be published.