राजनीति

मेचीनगरको पर्यटकीयस्थल चिनाउन युवाहरुको मोटरसाइकल र्याली

झापा, पुष १४ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् ।

यही बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल र्याली आयोजना गरेको सोमबार मेचीनगरको खुट्टीडाँगी सिमसार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अनेरास्ववियू मेचीनगर, राष्ट्रिय युवा संघ नेपाल मेचिनगर कमिटीको आयोजनामा हुने र्यालीमा १०० वटा मोटरसाइकलमा २०० जना सहभागी हुने छन् । स्थानीय क्षेत्रको पर्यटन प्रबर्धन गर्नका लागि मोटरसाइकल र्याली आयोजना गरिएको पूर्व युवा सङ्घ मेचीनगरका अध्यक्ष सरोज मेहराले जानकारी दिए । उनका अनुसार र्यालीमा युवाहरुलाई बढीभन्दा बढी सङ्ख्यामा सहभागिता गराउने योजना रहेको छ ।

‘हामीले पर्यटकीय क्षेत्रसँगसँगै शिक्षा तथा कृषि फार्मलाई पनि रोजेका छौं,’ अध्यक्ष मेहराले भने, ‘किनकी मेचीनगरका केही शैक्षिक तथा कृषि फार्महरु देशकै उदाहरणीय छन् । तिनको प्रचार गर्न सकियो भने पर्यटकका लागि अध्ययन र अनुसन्धानको विषय बन्न सक्छ ।’

मेचीनगर–१३, चारआलीमा रहेको उत्तरगङ्गा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बुधबार विहान ७ बजे र्याली सुरु गरिने छ । उक्त मोटरसाइल र्याली प्रगति सामुदायिक वन मेचीनगर–१२, निचाझोडा सिमसार मेचीनगर–१३, बालसुवोधिनी निमावि मेचीनगर–१४, कालिका सिमसार मेचीनगर–११, बाँसवारी सिमसार मेचीनगर–१२ हुँदै अगाडि बढ्ने छ ।

त्यहाँबाट र्याली आदर्श मावि मेचीनगर–८, पातालगङ्गा पर्यटकीय क्षेत्र मेचीनगर–८, मेची जस्केलो मेचीनगर–६ पुग्नेछ । त्यहाँबाट कृष्णथुम्की मेचीनगर–१, मिनी माउन्टेन मेचीनगर–२, सीएम कृषि फार्म मेचीनगर–२ हुँदै मेचीनगर–९ मा रहेको खुट्टीडाँगी सिमसार क्षेत्रमा आएर समापन गर्ने कार्यक्रम तय भएको छ ।

रोजाइमा परेका ती सबै पर्यटकीय क्षेत्रका प्रतिनिधिहरुलाई राष्ट्रिय झन्डा र भिजिट वर्षको लोगो हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको आयोजक पूर्व वाइसीयल मेचीनगर कमिटी अध्यक्ष विनोद मण्डलले बताए । उनका अनुसार मोटरसाइल र्यालीमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन युवाहरु आफैले नै जुटाउने छन् । मोटरसाइकल र्यालीमा औषधि लगायतका सामाग्रीको व्यवस्थापन धुलाबारीको हलेसी मेडिकलले गर्ने छ ।

पत्रकार सम्मेलनमा युवा नेताहरु राजु धिमाल, ओम प्रसाद तिम्सिना, सोम ओझा, विद्यार्थी नेता सन्तोष धमला, खुट्टीडाँगी वनका अध्यक्ष टङ्कबहादुर नेपाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *