अर्थ

गृहलक्ष्मीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न; ५ सय जनाले सेवा लिए

झापा, फागुन ८ । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बुधबार मेचीनगर–१ को गाडागल्लीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५ सय जनाले सेवा लिएका छन् ।

सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर गाडागल्ली सेवा केन्द्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

ग्रामीण भेगका जनतालाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

धुलाबारीको हलेसी मेडिकल हलको प्राविधिक सहयोग रहेको शिविरमा फिजिसियन डा. सुमन चौधरी, डा. आरएन सङ्ग्रौला र एचए सिएन सिंहले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा सुगर तथा किड्नीका बिरामीहरुको टेस्टसमेत निशुल्क गरिएको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले बताए ।

सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता तथा मेचीनगर वडा नं १ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविर उद्घाटन कार्यक्रममा सहकारी अभियन्ता हिम्मत क्षेत्री, जनप्रतिनिधिहरु विकेन्द्र थापा, रामकुमार राई, खेमकुमारी कार्की, सीता विक, प्रधानाध्यापक राजनकुमार गिरीलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाकी उपाध्यक्ष दुर्गा डाँगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गाडागल्ली सेवा केन्द्र संयोजक तिलजा देवानले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *