खेलकुद

सताक्षी गोल्डकप:थ्रीस्टार फाइनलमा प्रवेश

झापा, फागुन ८ । थ्रीस्टार क्लब काठमाडौँ झापामा जारी तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । जितसँगै थ्रीस्टारले कम्तीमा तीन लाख रुपैयाँ पक्का गरेको छ ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंङ्गशालामा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । खेलको ५९ औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोल किप्पर मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो । खेलको ८२ औँ मिनेटमा अर्को एक गोल थप्दै थ्रि स्टारले जित सुनिश्चित बनाएको थियो । कप्तान विक्रम लामाले गोल गरेका हुन् । यसअघि खेलको सातौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईको प्रहार आकाशिएको थियो २५ औँ मिनेटमा लालरामको प्रहार विपक्षी खेलाडीले रोकिदिएका थिए ।

खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रि स्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले गोलको दिशा दिएका थिए । यसअघि खलको नवौँ मिनेटमा सतासीधामका रोशन थाम्सुहाङको प्रहार आकाशिएको थियो । ४४ औँ मिनेटमा मनिष थापाको ३५ यार्ड टाढाको प्रहार थ्रि स्टारका गोल किप्पर पूर्ण चेम्जोङले पञ्च गरेर बचाएका थिए ।

खेलको म्यान अफ दि म्याच थ्रि स्टारका अनन्त तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *