शिक्षा

त्रिविको स्थगित परीक्षा असोजभित्रै

काठमाडौँ, भदौ १० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए ।

खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ । व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो ।

यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए । यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ ।

विश्वविद्यालयले परीक्षा स्थगित भएपछि सम्पर्कविहीन भएका विद्यार्थीको खोजी सुरु गर्ने भएको छ । विद्यार्थीको खोजीपछि बल्ल कति विद्यार्थी छन् भन्ने यकिन हुने भएकाले कसरी परीक्षा लिने निर्णय गर्न सकिने जनाइएको छ । यसअघि चैतमा स्थगित परीक्षा पुरानै परिपाटीबाट लिइएको थियो भने देशभर एकैसाथ परीक्षा चलाइएको थियो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेको जस्तो अवस्था अहिले नरहेको स्पष्ट गर्दै कुनै फरक विधिबाट परीक्षा लिई विद्यार्थीको नतिजा प्रकाशित गरिने बताए ।

यसैबीच त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसके पनि विद्यार्थीलाई माथिल्लो सेमेस्टरमा पढाउन थालिएको छ । विगतमा विद्यार्थीले एक तहको सेमेस्टरको परीक्षा सकेर मात्र अर्को सेमेस्टरमा जाने अभ्यास रहेकोमा यसपटक भने परीक्षा नै नदिएको अवस्थामा पनि अर्को सेमेस्टरमा अध्ययनका लागि विश्वविद्यालयले बाटो खोलिदिएको हो । यसको कार्यान्वयन गर्दै आफूहरूले कक्षा सञ्चालन सुरु गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिए । यसबाट विद्यार्थीको शैक्षित्र सत्र सदुपयोग हुने जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ