खेलकुद

आईपीएल: हैदरावाद विजयी, बैङलोर ५ विकेटले पराजित

काठमाडौं, कात्तिक १६ । सनराईजर्स हैदरावादले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ प्रबेशको संभावना कायमै राखेको छ । आफ्नो १३ औ खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ५ विकेटले हराउदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

१३ खेलबाट १२ अंक जोडेको हैदरावादले समान अंक भएका पञ्जाव, राजस्थान र कोलकत्तालाई पछि पारेको हो । बैङलोरले दिएको १ सय २१ रनको सामान्य चुनौती हैदरावादले ३५ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा ऋदिमन शाहले ३९, मनिषकुमार पाण्डेले २६ रनको योगदान गरे । बिष्फोटक ब्याटिङ गरेका जेसन होल्डरले २६ रनमा नटआउट रहदै टोलीलाई सहज जित दिलाए । बैङलोरका युजबेन्द्र चहालले २ तथा नभदिप सैनी, ईश्रु उडाना र वासिन्टन सुन्दरले समान एक विकेट लिए ।

यसअघि सारजाह क्रिकेट मैदानमा टस जितेको हैदरावादले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २० रनको सामान्य योगफल तयार पारेको थियो । जोस फिलिप्पेले सर्बाधिक ३२ रन बनाएको बैङलोरको ईनिङसमा एबी डिभिलियर्सले २४ र वासिन्टन सुन्दरले २१ रन बनाए । गुरुकृत सिंहले १५ रन जोडे । हैदरावादका सन्दिप शर्मा र जेसन होल्डरले समान २ तथा टि नटराजन,रासिद खान र सहबाज नादिमले समान एक विकेट लिए ।

यो हारसंगै बैङलोरलाई प्लेअफ प्रबेशका लागि अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई हराउनुपर्ने दबाव बढेको छ । दिल्ली र बैङलोरबिचको खेल सोमबार हुनेछ । हैदरावादले समुहचरणको अन्तिम खेलमा मंगलबार मुम्बई ईण्डियन्सको सामना गर्नेछ ।