संघ \संस्था

महेन्द्रद्धारको जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसान हर्षित

मेचीनगर, मंसीर ८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्धार सहकारी संस्थाले तेजपत्ता लगायत औषधीजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले प्रशोधन केन्द्र सञ्चालनमा ल्याएसंगै यस क्षेत्रमा लागेका र सहि मुल्य नपाएका किसानहरु हर्षित भएका छन् । आफ्नै ठाँउमा उचित मुल्यमा आफुले उत्पादन गरेका सामाग्रीहरु विक्रि गर्न पाँउदा समयको बचत संगै ब्यापारीबाट ठगिनु पर्ने बाध्यता पनि हटेसंगै किसान खुशि भएका हुन् ।

संस्थाले भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ को ७५ प्रतिशत सहयोग र संस्थाको २५ प्रतिशत लगानीमा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो ।

झापाकै अग्रणी संस्थाको रुपमा सञ्चालित महेन्द्रद्वार सहकारी संस्थाले किसानको करेसाबारीमा रोपेको तेजपत्तालगायत अन्य जडिबुटिजन्य वस्तु उचित मुल्यमा खरिद गरी त्यसबाट प्रशोधित तेल उत्पादन गर्न यो अभियान सुरु गरेको संस्थाका अध्यक्ष राजकुमार दाहाल (राजु)ले बताए ।

सहकारीलाई उत्पादनसँग जोड्ने उद्देश्यले तेजपत्तालगायत औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनबाट संस्थाका सदस्य र किसानलाई आत्मनिर्भरसँगै लामो समयदेखि तेजपत्तालगायत जडिबुटिजन्य वस्तु कौडिको मुल्यमा भारत निकासी हँुदै आएको छ । त्यसलाई रोक्न पनि यो अभियानले सहयोग पुग्ने छ ।

मेचीनगर–८ स्थित इटाभट्टामा १ करोड ६८ लाख रुपैयाँ लागतमा सुरु भएको महेन्द्रद्वार सहकारी संस्थाको जडीबुटी प्रशोधन केन्द्र संस्थाकै स्वामित्वमा रहेको ८ कट्ठा जग्गामा सञ्चालन गरेको संयोजक कुन्दन निरौलाले बताए ।

आवश्यक मेसिनरी सामानहरु भारतबाट ल्याइएको हो, लकडाउनका कारण सञ्चालन ढिलो भएको संस्थाले जनाएको छ । प्रशोधन मेसिन, प्याकेजिङ मेसिन तथा प्राविधिकका लागि गरेर जम्मा १ करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ ।

प्रशोधन केन्द्र सञ्चालन भएपछि किसानहरुबाट तितेपाती, असुरो, मसला, पाउलेनिया, मेन्था, लेमन ग्रासलगायतका प्रजातीका जुडीबुटीका कच्चापदार्थ (तेल) उत्पादनका लागी आवश्यक पर्नेछ । आवश्यक कच्चापदार्थ झापाका विभिन्न स्थानसँगै अन्य जिल्लाबाट समेत आयात गर्ने अध्यक्ष दाहालले बताए । सोमबार विधिवत रुपमा पुजापाठ गरी प्रशोधन केन्द्र सञ्चालन गरेको हो ।

सो अवसरमा मेचीनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर वडा नं ८ का वडा सदस्यहरु सन्तोष मेचे, खिला मेचे, गंगा पाठक र बिष्णु बराईली, जिल्ला सहकारी संघ झापाका संञ्चालक समिति सदस्य दुर्गा सापकोटा, काँकरभिट्टा सहकारी संस्थाका अध्यक्ष भुपाल सिवाकोटी, नेकपा जिल्ला कमिटि सदस्य तथा मेचीनगर ईन्चार्ज देवकुमार राई, मेचीनगर सचिव राजु पोख्रेल, ओम प्रकाश खापुङ्ग, पत्रकार मुक्ति पौडेल, हाम्रो खबरपाटी डटकमका प्रबन्ध निर्देशक बिष्णु भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष दाहालको सभापतित्व, संयोजक कुन्दन निरौलाले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए भने सदस्य गोपाल सिवाकोटीको सञ्चालन रहेको थियो ।