स्वास्थ्य

धाइजनमा कोभिड अस्पताल बन्ने, मेचीनगरले एक चिकित्सक सहित चार स्वास्थ्यकर्मी भर्ना गर्ने

मेचीनगर, मंसीर ८ । कोभिड अस्पताल सञ्चालनका लागि मेचीनगर नगरपालिकाले एक चिकित्सक सहित चार जना स्वास्थ्यकर्मी भर्ना गर्ने निर्णय गरेको छ । आज सम्पन्न नगरकार्यपालिकाको बैठकले मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीको भवनलाई कोभिड अस्पताल बनाउने र त्यसका लागि एक चिकित्सक, दुई स्टाफ नर्स र एक जना सहयोगी कर्मचारी माग गर्ने निर्णय भएको मेचीनगर उपप्रमुख मिना उप्रेतीले बताउनु भयो ।

आजको बैठकले मेचीनगर कोभिड अस्पतालका लागि थप ३५ थान अक्सिजन सिलिण्डर खरिद गर्ने समेत निर्णय गरेको उपप्रमुख उप्रेतीले बताउनु भयो । उप्रेतीका अनुसार नगरपालिकामा १० वटा सिलिण्डर यस अघि नै खरिद गरिसकिएको र थप ३५ वटा किनेर ५० वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्ने निर्णय भएको हो ।

उपप्रमुख उप्रेतीकै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अति बिपन्न परिवारका सदस्यहरुको तत्काल पिसिआर परिक्षण गराउनु पर्ने भएमा वडा कार्यालयको सिफारिसमा पिसिआर परिक्षण गर्दा लाग्ने शुल्क नगरपालिकाले नै उपलब्ध गराउने निर्णय समेत गरेको उपप्रमुख उप्रेतीले जानकारी दिनु भयो ।

आजको बैठकले मेचीनगर वडा नं। २, ५, १२ र १३ को वडा कार्यालय भवन निर्माणका लागि प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरेको छ भने नेपालकै पुर्वी प्रवेशद्वार निर्माणका लागि संघीय र प्रदेश सरकारसंग बजेट माग गर्ने समेत निर्णय गरेको छ ।