खेलकुद

म्यारोडोनाको ६० वर्षको उमेरमा निधन

काठमाडौं, मंसीर ११ । अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो ।

उनी दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा हिजो निधन भएको हो ।

बीबीसीका अनुसार उनलाई मादक पदार्थको लत थियो र यसबाट छुटाउन उनको उपचार पनि सँगै भइरहेको थियो । म्याराडोना अर्जेन्टिनाका आक्रमक मिड फिल्डर थिए ।

८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रूपमा रहेका म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्व कपको उपाधी चुमेको थियो । यसबाहेक उनको थुप्रै व्यक्तिगत विश्व रेकर्डहरु छन् । उनले बार्सिलोना र नापोली क्लबहरूमा रहेर खेलेका थिए । उनले २ पटक सिरी-ए टाइटल इटालियनको तर्फबाट जिताएका थिए ।

म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाको लागि ९१ वटा खेलहरुमा ३४ गोल गरेका थिए । आफ्नो खेल जीवनको उत्तरार्धमा सन १९९१ मा उनले कोकिन प्रयोग गरेको प्रमाणित भएपछि १५ महिना खेलबाट प्रतिबन्धित हुनुपरेको थियो ।

म्याराडोनाले ३७ वर्षको उमेरमा व्यवसायिक खेलबाट सन १९९७ मा सन्यास लिएका थिए । खेल जीवनबाट सन्यास लिएपनि उनी सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बने । त्यसपछि सन २०१० को विश्वकपमा आफ्नो टिम जर्मनीसँग क्वाटर फाइनलमा पराजित भएपछि मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए ।