विचार

नारीको इज्जत लुटेको कुरामा टेबल ठटाउन अन्त्य गरिदिनुस्

लीजा भण्डारी
झापा, मंसीर १० ।
म(नारी) यस्तो देशको नागरिक हुँ, जहाँ एउटा महिलालाई लक्ष्मी, देवी, सरस्वती, दुर्गा भवानी आदि नामले पुज्ने गरिन्छ। आदर, सम्मान र सत्कार गरिन्छ। अनि जुन घरमा छोरीको जन्म हुन्छ, त्यस घरले छोरी पाएको उपलक्ष्यमा दिपावली गर्छ, खुशी मनाउँछन्। हो म यस देशको नागरिक अझ भनौं म यही देशको नारी भनिरहदा साँच्चै गर्वले छाती फुल्छ।

खुशीहरु अनायासै उथलपुथल हुन्छ। अनि फेरी, अर्को कुरा सुन्नुस् म त्यही देशको पनि नागरिक हुँ वा नारी हुँ। जुन देशमा बिहान मन्दिरमा लक्ष्मीको रुपमा पुजा गरिन्छ र अनि बेलुका त्यही मन्दिरमा उस्को अस्तित्व लुटिने गरिन्छ। अनि त्यही घर जहाँ एउटा छोरी जन्मिदा खुशियाली मनाईएको थियो, त्यही घरमा भोली त्यही लक्ष्मी(नारी) आफ्नै बुवा, हजुरबुवा, दाजुभाइबाटै बलात्कृत हुन्छिन्।

एकपटक मात्र होइन, पटकपटक आफ्नैहरुको शिकार बन्छे। हो म(नारी) यही देशमा जन्मिएको हुँ। मलाई पटक–पटक घृणा लाग्छ, लज्जावोध हुन्छ र अझ भनौ अहिले त डर लाग्छ कि म यो देशको नागरिक हुँ। भन्नाले मलाई मात्र होइन, सम्पुर्ण दिदीबहिनिलाई यो थाहा भईसक्यो कि हामी सुरक्षित छैनौ। हामी अब हर कोही मनलाई खुल्ला र आनन्दित गरेर हिड्न सक्दैनौं।

किनकी मानवरुपी दानवहरु जताततै छरपस्ट छरिएका छन्। यो समाजको निर्मला पन्त, सम्झना बि.क. त उदाहरण मात्र हुन्। हाम्रो समाजले केही यस्ता घटनालाई मात्र बाहिर ल्याएको हो। त्यस्ता कैयौं निर्मला पन्त र सम्झना बि.क.हरु छन्। जो बलात्कारको शिकारमा आफ्नो ज्यान अकालमै गुमाएका छन्। कतिलाई आत्महत्या गर्न समेत बाध्य पारिएको छ।

सबै जनाको सोच त्यस्तै नहोला र नरपिचासहरु नहोलान्। तर समाजमा यस्ता गिद्दहरु पनि बसेका छन्। जसले आमा, दिदीबहिनी, कसैलाई पनि बाँकी राखेका छैनन्। यस्तो खबर सुन्दा समाचार पढ्दा म(नारी)को रगत उम्लेर आउँछ। छाती बेस्सरी दुःखेर आउँछ। ती कोपिला कुनैदिन फूलेर मधुर सुगन्ध समाजमा छर्ने सपना देखेकाहरुलाई नरपिचासहरुले कोपिलामै निमोठेर तुहाइदिएको हुन्छन्।

घर÷परिवारले, समाजले र देशले छोरी(नारी)हरुलाई हेर्ने नजर र सोच्ने सोचले गर्दा पनि यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दैछ। ती नरपिचासहरुको आत्मबल बढ्दैछ अनि अर्को कुरा, यो देशको कानुन र न्याय भन्ने चिजलाई पैसा र पहुँच भएकाहरुले बिकाउन सफल भएका छन्। गरिब र पहुँच विहिनलाई पनि समान न्याय दिलाउने न्यायलय नै पैसा र पहुँचको लालचमा डुबेर अन्याय गरिरहेको छ। यस्तो लाग्छ, म(नारि)लाई न्याय दिलाउने कानुनको त यो देशमा अहिलेसम्म जन्म भएको नै छैन। यदी भईहाल्यो भने पनि लागू हुन दिदैनन्। किनकी जस्ले कानुन लागू गर्नुपर्ने हो, उ आफैँ पनि नरपिचास …।

एकाध महिला वा पीडित पक्ष कानुनको ढोका ढकढक्याउन पुगेपनि त्यहाँ सदियौको भाले चिन्तन हाबी हुने गर्छ। जस्तो बलात्कारी, अपराधी भएपनि मर्ने बेलामा पानी खुवाउने र पिण्ड पुजा गर्ने भनेको छोरा नै हो। र मेरो सम्पत्तिको मालिक पनि छोरा नै हो भन्ने सोच हाम्रो समाजमा गाडिएको छ। महिलालाई अलग व्यक्तिको रूपमा मात्र होइन, यो समाजले लिङ्ग भोग र बच्चा उत्पादन गर्ने मेसिनको रूपमा लिएको पाइन्छ। र कानुनले पनि महिलालाई यस्ता शब्दावलीहरुले नै विभेद गरेको छ।

आफ्नै बाउ, दाजुभाइ, काका, हजुरबुवाबाट बलात्कृत हुँदा पनि यौनलाई अतिसय र घिनलाग्दो चित्रित गरिएको हाम्रो समाजमा त्यो छोरीले बुवा, दाजुभाइले आफुमाथि बारम्बार गर्ने गरेको हर्कतबारे कसरी बोल्न सकोस्। आखिर यो समाजले गलत देख्ने भनेको नारीलाई नै हो। यही इज्जत र चरित्रको कारण पनि कतिपय घटनाहरु प्रहरी, प्रशासनसम्म नि पुग्दैन। र अँध्यारो कोठाभित्र नै न्याय पिल्सिरहन्छ। हो यसरी नै न्याय हराउँदैछ मेरो देशमा। धेरै फक्रिन खोजेका फूलहरु कोपिला मै चुडिनु परेको छ र एकाध एक–दुई घटना सार्वजनिक गरिन्छ।

विभिन्न सामाजिक संजालहरु भरिन्छ। विभिन्न मिडियाहरुले ठुला–ठुला अक्षरमा हेडलाईन बनाउछन्। महिलाको हकहीत र अधिकारको निम्ति लड्छु भन्ने डलरे संघसंस्थाहरुले आन्दोलन गरे जस्तो गरेर सडक तताउँछन्। केहीदिन त्यस घटनाको चहलपहल हुन्छ। तर हप्तादिन बित्न नपाउँदै त्यो घटना कहाँ गएर सेलाउँछ थाहा छैन। अनि पीडितहरु सधैं पीडित अनि बलात्कारी सधैं समाजको बहादुर हुन्छ।

हो मलाई धेरै पटक यो महसुस हुन्छ कि किन म छोरी भएर जन्मिए ? अझ मलाई यो कुरा सम्झेर झनै डर लाग्छ कि मैले छोरी जन्माए भने मैले त्यस्को सुरक्षा कसरी गर्छु होला भनेर। अब त अति नै भईसक्यो, यो देशमा न्याय र मानवता भन्ने चिज हराईसक्यो। एउटा अनुरोध छ, सत्तामा पुगेका ती ठुला–बडाहरुलाई अनि देश चलाउँन देशको राजधानीमा केवल कुर्सीको मोहमा बसेकाहरुलाई। तिम्रा पनि छोरी होलान्, बुहारी होलान्, दिदीबहिनी होलान्, अहिले सम्झना र निर्मलाको अभिभावकले पीडा भोगेका छन्, त्यस्तै पीडा भोली तपाईंहरुले नि भोग्नु पर्नेछ।

हुन त सायद सम्झना र निर्मलाको ठाउँमा तपाईंहरुको छोरी, दिदीबहिनी भएको भए यो देशको कानुनको रुप रेखा बदलिने थियो होला। बलात्कारीलाई ठुलो र कडा सजायँ भएको कानुन बन्थ्यो होला। बलात्कारीहरुलाई तत्काल सजायँ तोकिन्थ्यो होला। तर यहाँ त ठिक बिपरित छ। गरिब र दुःखी जनताहरु कै हो सधैं आँसु बग्ने, बिजोग हुने उनीहरु कै सन्तानहरु हुन्, आफ्नै शरीरबाट बगेको रगतले लिक्षिप्त भएर ब्वासोहरुको हातबाट मर्नु पर्ने।

यदी तिमीहरुलाई साँच्चै नै यो देशको माया लाग्छ, अनि नारीको इज्जत गर्नु पर्छ लाग्छ भने यो देशको नारीको इज्जत जोगाइदिनुस्। यो देशको छोरीहरुको कुमारित्व जोगाइदिनुस्। अनि उनीहरुले हाँसेर खुशी र ढुक्क भएर हिड्ने वातावरण मिलाइदिनुस्। उनीहरुको सुरक्षा गरिदिनुस्। तर बिन्ती छ, नारीको इज्जत लुटेको कुरालाई अनि बलात्कारबाट मृत्यु भएको कुरालाई चिया पसलमा चिया गफमा टेबल ठटाउने वातावरणको अन्त्य गरिदिनुस्।