संघ \संस्था

झोला बनाउने तालिम सम्पन्न

झापा, फागुन १९ । मेचीनगर १ स्थित शुभ महिला समूहद्धारा आयोजित व्यावसायिक ब्याग(झोला) बनाउने तालिम आइतबार समापन भएको छ । आयोजक समूह अन्तर्गत उपसमिति अध्यक्ष शिला भट्टराईको अध्यक्षता एवं मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

तालिम समापनको अवसर पारेर आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तामाङले तालिमले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न सघाउ पुग्ने धारणा राखे । तालिममा सीप आर्जन गरी व्यावसायिक रुपमा झोला बनाउने प्रशिक्षार्थीहरुलाई झोलाको बजार पहिचान गरी व्यवसाय प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने उनको भनाई थियो ।

कृष्णनगर विकास संस्थाको भवनमा आयोजित कार्यक्रममा वडा सदस्य डिकेन्द्र थापा, भीमकुमारी कार्की, वडा सचिव युवराज पोखरेल, पानस कृषि साकोसका अध्यक्ष महेन्द्र मल्ल, राप्रपा नेता लोकनाथ लामिछाने, प्रशिक्षक निकिता विष्ट, प्रशिक्षार्थी मुना तामाङलगायतले बोलेका थिए ।

व्यावसायिक सीप प्रदान गरी महिलालाई स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने उद्देश्यले १० दिने निःशुल्क तालिम सञ्चालन गरिएको आयोजक समूह, मूल समिति निर्मला अधिकारी(बस्नेत) ले बताईन् ।

१ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालित तालिममा सहभागी वडाका १६ जना महिलाहरुलाई प्रशिक्षक प्रशिक्षक निकिता विष्ट र कविता घिमिरेले प्रशिक्षण दिएका थिए । तालिममा सैद्धान्तिक र प्रयोगात्मक सीप सिकेका प्रशिक्षार्थीहरुले ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म मूल्य पर्ने ६ प्रकारका करिब दुई दर्जन झोला तयार गरेका छन् । आयोजक समूह, उप समितिकी संस्थापक सहसचिव यमुना आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उप समिति सचिव संगीता दाहालले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.