झापा, चैत १६ । मेचीनगर नगरपालिका वडा नम्बर ८ ले मेचीनगरमा नै पहिलो चोटी वडा भित्र विदेश बाट आएका घरहरु पहिचान गरी आइतबार रेड लक लगाएको छ ।

भारत सहित तेस्रो मुलुकबाट वडामा चैत ४ गते देखि यता आएका १७ जनाको घरमा मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल वडा सदस्य सन्तोष मेचे युवा समाजसेवी अर्जुन पोख्रेल र ओमप्रसाद तिम्सिनाले रेड लक लगाएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ कोरोना भाइरसको संक्रमणलाई वडा क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको वडा अध्यक्ष धिमालले बताए ।

विदेश बाट आएका १७ जनाको अवस्था सामान्य रहे पनि सम्भावित संक्रमणलाई रोकथाम गर्न उनिहरु सहित उनिहरुका परिवारका ८६ जनालाई होम क्वारेन्टाइनमा नै बस्न आव्हान गरेको वडा सदस्य मेचेले बताए ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले गत मंगलबारदेखि सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) घोषणा गरी सकेको छ । यसलाई पूर्ण रुपमा पालना गर्दै अति आवश्यक बाहेक घर बाहिर अनावश्यक ननिक्लन आग्रह गरेको पनि उनले बताए ।
वडाले यस अघि देखि नै कोरोना संक्रमणबाट बचाउन मास्क वितरण गर्नुका साथै जनचेतनाका लागि माइकिङ, पर्चा पम्प्लेटलगायतका सामाग्री द्वारा सचेतना जगाई रहेको छ ।

